त्रिभुवन विमानस्थलको आन्तरिक उडान र अवतरण ९ बजेपछि सुचारू भएको छ।
मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको थियो।
विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीका अनुसार आन्तरिक उडानका जहाजलाई लामो रनवे नचाहिने भएकाले उत्तरतिरको रनवेबाट उडान र अवतरणको सुचारू गरिएको हो।
अन्तर्राष्ट्रिय उडान सुचारू हुन भने अझै केही समय लाग्ने देखिएको छ। विमानस्थल प्रशासनले १२ बजेपछि उडान सुचारू हुन सक्ने जनाएको छ।
विदेशबाट यात्रु लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् भने स्वदेशबाट विदेश जाने कुनै पनि जहाजले उडान गर्न पाएका छैनन्।
गएरातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहे पनि अझैसम्म हटाउन सकिएको छैन। यसलाई हटाउन अझै ३-४ घण्टा लाग्ने क्षेत्रीले बताए।
विमानस्थलमा कार्यरत प्राविधिकका अनुसार क्रेन ल्याउनु नपर्ने र डोरीकै साहयताबाट जहाजलाई हटाउन सकिन्छ।
‘अहिले डोरीको साहायताबाट जहाज तानिरहेको छ। अझै ३-४ घन्टा लाग्न सक्छ। क्रेन ल्याउनुपर्ने अवस्था छैन। जहाज सानो भएकाले हामी यसलाई तान्न सक्छौ तर केही समय लाग्छ,’ ती प्राविधिकले भने।
बिहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो।
रन वेबाट चिप्लिएर चौरमा पुगे पनि जहाजमा कुनै मानवीय क्षति भएको छैन।