विमानस्थलमा मालिन्दो एयर ठूलो दुर्घटनाबाट बच्यो, चालक दलसहित सबै १३९ यात्रु सकुशल
काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ।
काठमाडौंबाट बिहीबार राति ९:४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको उडान नम्बर ओडी १८१ जहाज धावनमार्ग छाडेर चौरतिर पुगेको थियो। अनियन्त्रित जहाज धावनमार्ग सकिएपछि पनि १३० फिट दक्षिण पुगेर जोतिएको थियो।
राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको थियो।
१३९ यात्रु सवार जहाजका चालक दलका सदस्य र यात्रु सबै सकुशल छन्। जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए । अग्नि नियन्त्रक, एम्बुलेन्स, सुरक्षाकर्मीसहित ठूलो संख्यामा उद्धारकर्मी तत्काल जहाज भएको ठाउँमा पुगेका थिए । उनीहरुले सबै यात्रुहरुलाई ओरालेपछि जहाजलाई पार्किङ क्षेत्रमा लगिएको छ ।
मालिन्दोको उडानलगत्तै अवतरण गर्न तयार भएका जेट एयरवेज र मलेसियन एयरका जहाज लामो समयसम्म काठमाडौंमाथि घुमिरहेका थिए। तर, विमानस्थल नखुलेपछि जेट एयरवेज दिल्लीतिर पुग्यो भने मलेसियन एयर बंगलादेशको ढाका पुगेको थियो।
दुर्घटनाग्रस्त जहाज निकाल्ने प्रयास भइरहेको छ । ननिकालेसम्म धावनमार्ग नखुल्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।