दाङको घोराहीमा प्रहरीले पाकेट मारेर भाग्दै गरेका तीन जनालाई पक्राउ गरेको छ।
बिहिबार दिउँसो पक्राउ गर्दा उनीहरूको साथबाट प्रहरीले दुई लाख ७५ हजार रुपैयाँ समेत बरामद गरेको छ।
घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा दुई जना व्यक्तिको पकेट काटेर लुटेको दुई लाख ७५ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ झुमरीया निवासी ३५ वर्षीय विक्रम नेपाली, ३४ वर्षीय राजकुमार नेपाली र ३३ वर्षीय यज्ञबहादुर नेपालीले दुईजना जेष्ठ नागरिकबाट पकेट मारेर उक्त रकम लुटेको प्रहरी सहायक निरीक्षक मानबहादुर महराले जानकारी दिए।
उनीहरूले बिहिबार दिउँसो घोराही बसपार्क क्षेत्रबाट रोल्पा जिल्लाको लिबाङ नगरपालिका वडा नम्बर ६ कोटगाउँ निवासी पूर्णबहादुर घर्ती मगरको एकलाख ७५ हजार र रोल्पा परिवर्तन गाउँपालिका ६ कर्तम निवासी किरतबहादुर पुन मगरको एक लाख रुपैयाँ पाकेट मारेर लुटेको प्रहरीले जानकारी दिएको छ। लुटिने व्यक्तिहरू दुबै भूतपूर्व भारतीय सैनिक हुन्।
घोराहीको चौघेरामा पेन्सन बुझेर घर फर्कंदै गर्दा मगरद्वयको उक्त रकम पकेटमारहरूले लुटेको घोराहीको नयाँ बसपार्कस्थित प्रहरी विटका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक मानबहादुर महराले जानकारी दिए। यसैबीच पाकेटमार तीनै जनालाई प्रहरीले घोराहीको बसपार्कबाटै पक्राउ गरेको जानकारी दिएको छ।
मगरद्वय बसमा चढ्दै गर्दा पकेट ब्लेडले काटेर पैसा निकालेर उनीहरू फरार भएको र लखेटेर पक्राउ गर्न सफल भएको महराले बताए।
यज्ञबहादुर नेपालीलाई घोराहीको बसपार्क नजिकै पक्राउ गरिएको भए पनि अन्य दुई जना विक्रम नेपाली र राजकुमार नेपालीलाई भने घोराहीको सौंडीकुला भन्ने स्थानबाट पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ।
पाकेटमारमध्ये अन्य दुई जना गणेश भण्डारी र स्याने नेपाली भने फरार रहेको हुँदा प्रहरीले खोजी तीव्र पारेको जानकारी दिइएको छ।