हापुरे खानेपानी तथा सरसफाइ संस्थाको हापुरेस्थित कार्यालयमा स्थानीय उपभोक्ताले बिहिबार तालाबन्दी गरिदिएका छन्।
बुधबारको साधारण सभामा पेस गरिएको आर्थिक प्रतिवेदन पारदर्शी नभएको भन्दै बबई गाउँपालिका वडा नम्बर ४ र ५ का उपभोक्ताले खानेपानी कार्यालयमा ताला लगाएका हुन्।
धारा जडानबाट संकलित रकम पारदर्शी नभएको भन्दै उपभोक्ताले ताला लगाएको स्थानीय चिम्से कामीले जानकारी दिए। यसैबीच कामीको संयोजकत्वमा सत्यतथ्य विवरण सार्वजनिक हुनुपर्ने माग गर्दै ६ सदस्य संघर्ष समिति गठन समेत गरिएको छ ।
उक्त खानेपानी उपभोक्ता समितिले त्यहाँ झन्डै एक हजार तीनसय जति निजी धारा जडान गरेको अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए।
उपभोक्ताहरूले खानेपानीका कोषाध्यक्ष छविलाल बुढाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको आरोप लगाएका छन्। तर अध्यक्ष खड्काले भने खानीपानीमाथि राजनीति सुरू भएको बताए।
आफूले विगत १७ वर्षदेखि माना पाथी उठाएर खानेपानीलाई जिल्लाकै उत्कृष्ट खानेपानी योजना बनाएपछि अहिले त्यसमा राजनीति सुरू भएको बताए। उनले आफूहरू छानबिन आयोग गठन गर्न र हिसाब देखाउन तयार रहेको बताए।
कोषाध्यक्षले प्रस्तुत आर्थिक प्रतिवेदन तलमाथि भएको आशंका उहाँहरूले गर्नु भएको हो भने आउनुहोस् छानबिन आयोग गठन गरेर अगाडि बढ्न आफूहरू तयार रहेको अध्यक्ष खड्काले बताए।