रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजन (परिवर्तित नाम) को हत्यामा संलग्न अभियुक्तलाई बिहिबार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ।
वैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन ४ गते बिहान घर नजिकैको खेतमा मृत फेला परेकी थिइन्। घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले हरिजनको हत्या गरेको आरोपमा ओमसतिया ६ का १८ वर्षीय प्रेमसागर केवटलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार मृतक हरिजन र केवटबीच विगत चार वर्षदेखि प्रेम सम्बन्ध थियो। घटना हुँदाका राति उनीहरू हरिजनको घरनजिकै रहेको खेतबारीमा रात बिताएका थिए। त्यहाँ उनीहरूबीच अनैतिक सम्बन्ध पनि भएको केवटले प्रहरीलाई बयान दिएका छन्। केवटलेले हरिजनलाई उनकै कपालले घाँटीमा बेरेर हत्या गरेको प्रहरीको भनाइ छ। घटना लगत्तै पुगेको प्रहरीले कर्तव्य गरी मारेको हुन सक्ने अनुमान गरेपछि अनुसन्धान गरेको थियो ।
रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले केवटले हरिजनको हत्या गरेको बताए।
उनले पछिल्लो समय प्रविधिको दुरुपयोग गरी प्रेम सम्बन्ध राख्ने र पछि विवाद हुँदा हत्यासम्मको अवस्था आउने गरेको बताए। उनले छोराछारीमाथि परिवारले निगरानी बढाउनु पर्ने बताए।