अर्जुनबहादुर शाक्य पाटनको हिरण्यवर्ण महाविहारका नयाँ पुजारी हुन्। केही दिनअघि उनीसँगै मूलपुजारी पनि नियुक्त भए, सौहार्द शाक्य।
सौहार्दको उमेर हो, ९ वर्ष।
‘गोल्डेन टेम्पल’ का नामले चिनिने यो महाविहारमा प्रत्येक महिना मूलपुजारी फेरिन्छ। शाक्य समुदायबाट छानिने मूलपुजारी ६ देखि १२ वर्ष उमेरको हुनुपर्ने नियम छ।
मन्दिरमा बस्ने यी साना पुजारीलाई ‘बापाचा’ भनिन्छ। नेवार भाषामा ‘बा’ भनेको बहाल र ‘पा’ भनेको पालो हो। स्थानीय बोलिचालीमा ‘कवहाः’ भनिने विहारमा पालैपालो बस्ने पुजारी भएकाले ‘बापाचा’ भनिएको महाविहारका सदस्य बुद्धरत्न शाक्य बताउँछन्।
पाटनमा करिब १८ बहाल/विहार छन्। ती सबैमा पुजारी पालैपालो बस्ने चल्न छ। हिरण्यवर्ण महाविहार त्यसैमध्ये प्रमुख हो।
महाविहारमा साना मूलपुजारी राख्नुको पछाडि किम्बदन्ती जोडिएको छ। कुनै समय पाटन राज्यलाई किराँत राजाको अत्याचारबाट साना बापाचाले मुक्त पारेका थिए भन्ने कथन छ।
किम्बदन्तीअनुसार ‘अत्याचारी’ किराँत राजाले १२ वर्ष बढी उमेरका मानिसलाई बाटोमा देख्यो कि मार्ने आदेश दिएछन्। यसबाट जनता त्राहीत्राही भए। एक जना बालकले यही अत्याचारबाट मुक्ति दिलाएपछि उनको सम्मानमा ६ देखि १२ वर्ष उमेरका केटाकेटी मुख्य पुजारी राख्न थालेको बुद्धरत्नले बताए।
ती साना बालकले राजाको अत्याचार कसरी तोडे भन्ने पनि कथा छ।
‘राजाको आदेशले विहारका एक पुजारीलाई आपत परेछ। भगवान बुद्धको पूजा गर्न नपाइने भएकाले उनलाई पीर पर्यो। त्यसैले, अाफ्नो १२ वर्ष मुनिको छाेरालाई जल लिएर बुद्धको मुख धुन पठाए,’ बुद्धरत्नले किम्बदन्ती सुनाउँदै भने।
ती बालक बुद्धको मुख धोइदिन मूर्ति अगाडि पुगेछन्। उनले बारम्बार बुद्धलाई मुख धुन बोलाए। बुद्ध आएनन्। बालक रुन थाले। रोएको देखेर बुद्ध प्रकट भएछन्।
‘मेरो मुख धुन सधैं तिम्रो बुबा आउनुहुन्थ्यो, आज किन तिमी आयौ?’ बुद्धले सोधेछन्।
ती बालकले राजाको अत्याचारदेखि मानिस मार्ने आतंकसम्मको सबै घटनाकाे विस्तार लगाएपछि बुद्धले भनेछन्, ‘तिमी आज घर गएर भात चढाऊ। भातबाट मौरी उत्पन्न हुनेछ। र, त्यही मौरीदेखि डराएर किराँतीहरू भाग्नेछन्।’
बालकले त्यसै गरे।
नभन्दै किराँत राजा आफ्ना भाइभारदारसमेत कुलेलाम ठोकेछन्।
त्यसै दिनबाट हिरण्यवर्ण महाविहारमा १२ वर्ष मुनिका पुजारी राख्न थालेको शाक्यको भनाइ छ।
गोल्डेन टेम्पलका नामले चिनिने हिरण्यवर्ण महाविहार। तस्बिरः विकिपेडिया
यहाँ हरेक महिना औंसीको भोलिपल्ट परेवा तिथिमा मूलपुजारी फेरिन्छ। नयाँ पुजारी छनौट गर्दा विहारका सदस्यमध्ये कै छानिन्छ। पुजारी छान्ने बेला भएपछि जसको पालो हो, उसलाई चिठी पठाएर खबर गरिन्छ।
औंसीको दिन बेलुकी बापाचाकाे पूजा हुन्छ। कुनै बेला दुई दिन औंसी पर्दा यहाँका स्थानीय महाविहारसँग सोध्ने गर्छन्। जुन दिन मूलपुजारी छानिन्छ, त्यसैलाई औंसी मान्ने चलन छ।
त्यही पूजामा बापाचाकाे योग्यता जाचिन्छ। कहिलेकाहीँ पालो आइसक्दा पनि पुजारी बन्ने साइत जुर्दैन। अनि तुरुन्तै समूहबाट अर्को पुजारी खोजी गरिन्छ।
‘भगवान बुद्धको इच्छा हुनुपर्छ। कसैलाई पुजारी बन्ने पालो आउँदा पनि जुर्दैन,’ बुद्धरत्नले भने, ‘पुजारी बस्ने पालोमै बिरामी हुने, चोटपटक लाग्ने र दुर्घटना परेको अवस्थामा पनि भएकाे छ। यस्ताे अवस्थामा तुरुन्तै अर्को पुजारीको खोजी हुन्छ।’
महाविहारअन्तर्गतको शाक्य समूहमा हजारभन्दा बढी सदस्य छन्। एउटाको पालो आउन करिब ५० वर्ष लाग्छ। क्रमैसँग जाँदा यसपालि बल्ल २०२१ सालका सदस्य परिवारको पालो आएको सहयोगी पुजारी अर्जुनबहादुरले बताए।
‘यति लामो समयपछि पालो आउने हुँदा ‘बापाचा’ बस्न पाउनेहरू आफूलाई भाग्यमानी ठान्छन्,’ उनले भने, ‘बुद्धको सेवा गर्न पाएकोमा म पनि आफूलाई भाग्यमानी ठान्छु।’
विहारमा बस्ने दुवै पुजारीले मन्दिरका विभिन्न नियम पालना गर्नुपर्छ।
नित्यकर्म बिहान ३ बजेबाटै सुरु हुन्छ। सबेरै उठेर नुहाउनुपर्छ। त्यसपछि बुद्धको मुख धोएर पूजाआजा गरिन्छ। सबै पूजाआजा र नित्यकर्म साना पुजारीले गर्छन्। उनी एक्लैले गर्न नसक्ने भएकाले ठूलो पुजारीलाई सहयोगी राखिएको हो।
विहारमा नित्यकर्म गर्न परम्परागत कालोपाटीजस्तो शिलालेख छ, जसमा तिथिमिति कुँदिएका छन्। दिनको चारपटक मन्दिरको घन्टी बजाउनु यहाँको नित्यकर्म हो। बिहान ५, ९, अपराह्न ३ र साँझ ५ बजे घन्टी बजाउने चलन छ। यी घन्टीले छुट्टाछुट्टै जनाउ दिन्छ।
‘५ बजेको घन्टीले बिहानको संकेत गर्छ, ९ बजे खाना खाने, ३ बजे दिउँसो भएको र ५ बजेको घन्टीले साँझ परेको जनाउ दिन्छ,’ बुद्धरत्नले भने, ‘अहिले हाम्रा हात–हातमा समय बताउने उपकरण छन्। त्यो समयमा भने घन्टी नै समयको सूचक थियो।’
बापाचाले खानेकुरामा पनि ध्यान दिनुपर्छ। उनीहरू बिहान एकपटक मात्र खान्छन्। यसमा साधारण दाल, भात र तरकारी पर्छ। उनीहरू खानामा साधारण नुन हाल्दैनन्, बिरेनुन हाल्छन्।
‘बेलुकी खानाको साटो फलफूल खान्छौं,’ उनले भने, ‘पुजारी बस्नेले एक महिनाभरि रक्सी, चुरोट, मासु लगायत खान हुँदैन।’
बापाचा बस्ने समय सकिएपश्चात भने उनीहरू फेरी सामान्य दिनचर्याान फर्किन सक्छन्।
बाह्रौं शताब्दीमा राजा भास्करदेव वर्माले यो महाविहार स्थापना गरेका हुन्। मुसा बिरालाे लखेट्ने अनाैठाे ठाउँ खोज्दै जाँदा यो ठाउँ फेला परेको मान्यता छ। त्यही भएर बापाचाले बेलुकी विहारभित्र ठाउँ–ठाउँमा मुसालाई भात राख्ने नियम छ।
‘कुनै दिन मन्दिरमा मुसालाई भात राख्न बिर्सिए पुजारी बिरामी हुने, मन्दिरका गरगहना हराउने र अनिष्ट हुने भनाइ छ,’ बुद्धरत्नले भने।