त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन। प्रहरीले विमानस्थलमा कडाइ गरेपछि तस्करहरूले सुन तस्करी गर्ने उपायसमेत बदलेका छन्।
सुरूमा विमानस्थलमा भन्सार कर्मचारी र प्रहरीकै मिलोमतोमा सुन आउने गरेको थियो। धेरै पटक यसरी तस्करी ल्याउने सुनमा कर्मचारी र प्रहरीकै मिलेमतो सार्वजनिक भएपछि तस्करले एअरलाईन्सको कर्मचारीकै मिलोमतोमा सुन भित्र्याउन थाले।
त्यसरीनै भित्र्याएको ३३ किलो सुन गाएव भएपछि भरिया भनिएका मोरङका समन शाक्यको हत्या भयो। उक्त घटनाका बारेमा सरकारले छानबिन समिति बनाएर अनुसन्धान थालेको छ। तर, विमानस्थलबाट हुने सुन तस्करी रोखिएको छैन।
२०७५ साल वैशाख १ गते यता मात्र करिब ३ किलोभन्दा बढी सुन बरामद भएको प्रहरीले जनाएको छ।
बिहीबार दुबईबाट आएका भारतीय नागरिकको जुत्ता भित्र ६० तोला सुन भेटियो। फ्लाई दुबईको एफजेट ८०१७ नम्बरको उडानबाट बिहिबार बिहान विमानस्थल उत्रिएका भारतीय नागरिक सर्फराज रहमानले जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा ६० तोला सुन बरामद भएको प्रहरीले जनाएको छ।
विमानस्थलको सम्पूर्ण चेकजाँच पास गरी पार्किङमा पुगेका सर्फराजको गतिविधि शंकास्पद देखेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका सर्फराजका बारेमा थप अनुसन्धान भईरहेको विमानस्थल प्रहरीले जनाएको छ।
यसअघि वैशाख १ गते विमानस्थलबाट प्रहरीले २ केजी ८ सय ३० ग्राम अवैध भन्सार छलिको सुन बरामद गर्यो।
फ्लाई दुबईको उडानबाट काठमाडौं आउदै गरेका भारतीय नागरिक २० वर्षीय रोकेश पाडिगेला र २७ वर्षीय सन्तोष गाड कुन्डलवारको साथबाट उक्त भन्सार छलीको सुन बरामद गरेको हो।
वैदेशिक रोजगारीको शिलशिलामा कतारबाट फर्किएका कामदारलाई प्रयोग गरि विमानस्थल भित्रबाट करिब २२ तोला सुन प्रहरीले वैशाख ४ गते बरामद गर्यो।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रहरी टोलीलले काठमाडौ ठहिटिको रतनलाल श्रेष्ठ, उदयपुर त्रियुगा नगरपालीका १६ की लिला कुमारी श्रेष्ठ सिराहा लाहान नगरपालिका १५ का इन्द्र सदेको साथबाट उक्त सुन कोटेश्वरबाट बरामद गरेको हो।
बैदेशिक रोजगारीबाट नेपाल आउदै गरेकाहरु मार्फत नेपाल आएको उक्त सुन प्रहरीले बरामद गरेको हो।
पछिल्लो समय सरकारले ५ तोला सुनसम्म ल्याउन दिने गरेको छ। तस्करले त्यसैलाई कडी बनाएर दिनमा २ किलोभन्दा बढी सुन त्यसरीनै भित्र्याउने गरेको बिमानस्थल स्रोतको दाबी गरेको छ।
‘वैदेशिक रोजगारीबाट फर्कनेहरुका हातमा मोटा सुनका बाला हुन्छन्, ५ तोला सम्मका गहना सरकारले बैधानीक रुपमा ल्याउन दिन्छ, त्यस्तालाई समात्न मिलेन,’ भन्सारका एक अधिकृतले सेतोपाटीसँग भने, ‘त्यसरी आउने सुन अधिकांश तस्करीको नै हो।’
राष्ट्र बैंकले दैनिक २० किलो सुन बिक्री गर्ने गरेको छ। तर सुनचाँदी व्यवसायीका अनुसार बजारको मागभन्दा यो ५० प्रतिशत कमी हो। एक वर्षमा ३० अर्ब रुपैयाँ बराबरको सुन नेपाल राष्ट्र बैंकले खरिद गरी व्यवसायीलाई दिने गरेको छ।
भारतमा हजार र ५ सय दरका नोट प्रचलन रोकिएसँगै अवैध सुन प्रतिकिलो पुरानो मूल्यभन्दा ५ देखि ७ लाख रुपैयाँसम्म महँगोमा बिक्री हुने गरेको छ । प्रहरी अनुसन्धानमा नेपाल भित्रिने अवैध सुनको ७५ प्रतिशत खपत भारतमा हुँदै आएको छ ।
हङकङ, यूएई, सिंगापुर र मलेसियामा सुन खरिद गरी तस्करले नेपाल ल्याउने गरेका छन्। नेपाल ल्याएको सो सुन नेपाली बजार र भारतीय बजारमा सजिलै खपत हुने गरेको छ ।
सुन तस्करीमा भरिया मात्रै पक्राउ परेपनि प्रहरीले अहिलेसम्म ठुला सुन तस्करीका नाईकेहरु सार्वजनिक गर्न सकेको छैन । तर केही प्रतिनिधी घटनाहरुमा भने पक्राउ परेका सुन तस्करको पृष्ठभूमीबाट थाह हुन्छ– सुन तस्करीमा मिलेमतोको ठूलो संजाल खडा छ ।