बिहिबार दिउँसो चर्को घाम, वीरेन्द्रनगरमा रहेको जनमाध्यमिक विद्यालयको प्राङ्गण अभिभावक र छोराछोरीले भरिभराउ थियो।
विद्यालयहरूमा यस शैक्षिक वर्षको नयाँ भर्ना लिने क्रम चलिरहेको छ। प्रवेश परीक्षाका दिनका लागि जनमाध्यमिक विद्यालय अगाडि लाइनमा उभिइरहेका थिए ती विद्यार्थी र साथमा उनीहरूका अभिभावक।
छोरी संगिता र छोरा दीपकलाई साथमा उभ्याएर जुम्लाको तिला गाउँपालिका–५, का लालबहादुर रावत पनि त्यही भीडमा उभिइरहेका थिए। उनले यसअघि छोरालाई जुम्लामा र छोरीलाई वीरेन्द्रनगरमा नै छुट्टाछुट्टै बोर्डिङमा पढाएका रहेछन्। जन माविमा उनले छोरालाई कक्षा ८ र छोरीलाई कक्षा ९ मा भर्ना गर्नका लागि आवेदन दिएका थिए।
आफ्ना संस्थागत विद्यालयमा पढेका छोराछोरी र छिमेकीका सामुदायिक विद्यालयहरूमा पढेको छोराछोरीको स्तर एउटै खालको देखेपछि उनले संगिता र दीपकलाई जनमाविमा भर्ना गर्न ल्याएका रहेछन्।
‘यो पहिलेदेखि नै राम्रो पढाइ हुने विद्यालय भनेर मैले सुन्ने गरेको थिएँ, अब त इङ्लिस मिडियममा पनि पढाइ हुन थालेको छ’, लालबहादुरले सेतोपाटीसँग भने,‘यही विद्यालयमा पढेका मेरो छिमेकीको स्तर मेरा यी छोराछोरीको स्तर बराबर छ, त्यसकारण पनि मैले मेरा छोराछोरीलाई यही पढाउने मनस्थिति बनाएको हुँ,’ उनले भने।
उनले उक्त विद्यालयको प्रवेश परीक्षामा छोराछोरी पास नभए अन्यत्र पढाए पनि सामुदायिक विद्यालयमा नै पढाउने बताए।
सुर्खेत जिल्लाकै पुरानो विद्यालयका रूपमा रहेको जनमाध्यमिक विद्यालयसँगै जिल्लामा करिब दुई दर्जन विद्यालयहरूले अङ्ग्रेजी माध्यममा पढाउने गरेका छन्। अङ्ग्रेजी माध्यममा पनि पढाइ हुन थालेपछि संस्थागत विद्यालय छोडेर समेत सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुन थालेका छन्।
जनमाध्यमिक विद्यालयमा भर्ना हुन आवेदन दिएका करिब १५ सयमध्ये ८० प्रतिशत जति अघिल्लो शैक्षिक सत्रसम्म संस्थागत विद्यालयमा पढेर आएका विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक यामलाल श्रेष्ठले जानकारी दिए।
अछाम, ढकारीका देउमा थापा र भरत थापा। यी दुई भाइबहिनी पनि सोही प्रवेश परीक्षा दिनेहरूको भीडमा बाबा रणबहादुर थापाका साथ उभिएका थिए। उनीहरूमध्ये देउमाले जनमाविमा कक्षा ८ मा भर्ना हुनका लागि आवेदन दिएकी रहिछन्, प्रवेश परीक्षाकै लागि लाइनमा थिइन्।
छोरा भरतलाई भने ७ कक्षामा भर्ना गर्न रणबहादुरले अन्य विद्यालय सोचिरहेका रहेछन्। तर उनलाई पनि सामुदायिक विद्यालयमा नै भर्ना गर्ने योजना उनको छ।
‘पछिल्लो समय सामुदायिक विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यममा पढाइ हुन थालिसक्यो, त्यसैका लागि त छोराछोरीलाई बोर्डिङमा हाल्ने हो,’ छोराछोरीसँगै उभिएका रणबहादुरले भने, ‘मेरा छोराछोरी पहिले पनि सरकारी स्कूलमै पढेका हुन् ठिकै छन्, अब पनि यी नाम चलेका सामुदायिक विद्यालयमा भर्ना गरेँ भने बोर्डिङमा पढेकाभन्दा कम हुने छैनन् भन्ने विश्वास छ।’
सुर्खेतको वीरेन्द्रनगरमा रहेका जनमाध्यमिक विद्यालय, श्री कृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालय, अमरज्योति माध्यमिक विद्यालय, हस्तविर आधारभूत विद्यालयलगायतका अङ्ग्रेजी माध्यममा पढाइ हुने सबै विद्यालयहरूमा विद्यार्थी भर्नाको आवेदन लिन भ्याइनभ्याइ छ।
जनमाविले भने विद्यार्थीको चाप बढेपछि तोकिएको समयभन्दा अगावै भर्ना कार्य रोकेको छ।
सुर्खेतको चौकुने गाउँपालिका ८ गुटुका घनश्याम सापकोटा सुरूमा कक्षा ५ सम्म गाउँकै संस्थागत विद्यालय (बोर्डिङ)मा पढ्थे। त्यसपछि उनी गाउँमै रहेको सामुदायिक जीवनज्योति माध्यमिक विद्यालयमा भर्ना भए। त्यहाँ उनले कक्षा ७ सम्म पढे।
घनश्यामलाई आमा वसुन्धरा सापकोटाले बिहिबार सदरमुकाम वीरेन्द्रनगरमा रहेको सामुदायिक विद्यालय श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गरिन्। उनको परिवारमा त्यसअघि नै सल्लाह भैसकेको थियो, त्यहाँ अङ्ग्रेजी माध्यममा पनि पढाइ हुने भएकाले त्यहाँ भर्ना गरिदिउँ भन्ने बारेमा।
सामुदायिक विद्यालयहरूमा सस्तो शुल्कमा निजी विद्यालयहरूको बराबर शिक्षा दिने वातावरण बनेपछि सामुदायिकमा पढ्ने विद्यार्थीको लहर बढेको श्री कृष्ण संस्कृत तथा साधारण माविकी सहायक प्रधानाध्यापक सुधा रेग्मी बताउँछिन्।
‘सामुदायिक विद्यालयप्रति पहिलेको तुलनामा जनविश्वास पनि बढेको छ,’ सहायक प्रधानाध्यापक रेग्मीले भनिन्, ‘केही सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमसँगै ती विद्यालयले विशेषगरी विद्यार्थी केन्द्रीत भएर अध्ययन अध्यापन गराउँछन्, त्यसैले अभिभावक तथा विद्यार्थीहरू आकर्षित छन् ।’
‘लठ्ठीले पिटेर हुँदैन बालबालिकाहरूलाई माया दिएर पढाउनुपर्छ, त्यो परिपाटी सामुदायिक विद्यालयमा बसिसक्यो त्यसले पनि अभिभावकको आकर्षण बढेको हुन सक्छ, ’ रेग्मीले भनिन्।
उनले आफ्नो विद्यालयमा पर्याप्त कोटाभन्दा बढी नै आवेदन आएको पनि जानकारी दिइन्।
वीरेन्द्रनगरको नेवारेमा रहेको अमरज्योति नमूना माध्यमिक विद्यालयले यस वर्ष जम्मा २९५ जना विद्यार्थी भर्ना लिने योजना गरेको थियो। तर, आवेदन भने ५ सयभन्दा बढी परेका छन्। त्यसमध्ये पनि बढी जसो अङ्ग्रेजी माध्यममा नै मागभन्दा धेरै आवेदन पर्ने गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए। आवेदन दिएकामध्ये पनि ७५ प्रतिशतभन्दा धेरै अघिल्लो शैक्षिक सत्रसम्म संस्थागत विद्यालयमा नै पढेर आएका छन्।
‘विद्यार्थीको चाप बढ्दै छ, हामीलाई भौतिक संरचनाको अभाव छ,’ अमरज्योतिका प्रधानाध्यापक थापाले भने,‘हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ, वर्षैपिच्छे निजी स्रोतमा शिक्षक थप्ने गरेका छौँ।’
उनले पनि अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेसँगै सामुदायिक विद्यालयप्रति जनविश्वास समेत बढेकाले अभिभावकहरू सामुदायिक विद्यालयतर्फ केन्द्रीत हुने गरेको बताए।
सस्तो शुल्कका साथै खुला वातावरणमा निजी विद्यालयहरू बराबर शिक्षा पाइने भएपछि अभिभावकहरू आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालेको कतिपय विद्यालयले बताउने गरेका छन्।
सामुदायिक विद्यालयहरूको स्तरवृद्धि तथा केही विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउन सुरू गरेपछि अभिभावकको आकर्षण बढेको शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका प्रमुख जीतबहादुर शाहको भनाइ छ।