काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोबाइल, ल्यापटपलगायतका समाग्री चोरी गरी सेकेन्ड ह्याण्ड बजारमा बिक्री गरेको आरोपमा प्रहरीले फुटबल खेलाडी दिपेश श्रेष्ठलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट चोरी गरेका मोबाइल र ल्यापटप अनलाइन बजार र सेकेण्डह्याण्ड बजारमा बिक्री गर्ने मुख्य अभियुक्त श्रेष्ठलाई प्रहरीले बुधबार प्रकाउ गरेको हो।
सरस्वती फुटबल क्लब कोटेश्वरका कप्तानसमेत रहेका श्रेष्ठ फुटबलमा कहिलिएका खेलाडी हुन्।
उनले साथी सुबास खड्कासँग मिलेर सेकेन्डह्याण्ड बजारमा ब्यापार गर्ने गरेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेपछि उनैले दिएको सूचनाका आधारमा श्रेष्ठको घरमा प्रहरी पुगेको थियो।
काठमाडौं महानगरपालिका ६ रेम्बोडाँडास्थित श्रेष्ठको घरमा लुकाइछिपाइ राखेको चोरीका समानहरू उनीहरूले हाम्रो बजार, सस्तो बजार जस्ता सेकेन्डह्याण्ड अनलाईन बजार र पसलमा बिक्री गर्ने गरेको रहस्य खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
प्रहरीले श्रेष्ठको घरमा विभिन्न स्थानबाट चोरी गरि ल्याएको बिभिनन्न ब्राण्डका मोबाइल ३३ थान, आइप्याड २ थान, पावर बैंक ३ थान, ३२ इन्च सोनी कम्पनीको टिभी २ थान, विभिन्न प्रकारका डिजिटल क्यामेरा २ थान, नेपाली नगद ४३ हजार ५ सय, भारू २ हजार, विभिन्न कम्पनीका ल्यापटप ५ थान तथा गियरवाला साइकल १ थान बरामद गरेको छ।
प्रहरीले खड्का र श्रेष्ठलाई मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने जानकारी दिएको छ।