नयाँ शैक्षिक सत्र सुरू भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए।
उनले भने, ‘वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रूपमा अनुगमन गर्ने छ।’
शुल्क भौतिक संरचना बमोजिम केन्द्रीत हुने भएकाले अनुगमनका क्रममा अनुचित भए सम्झाइ बुझाइ गर्ने र नमाने थप कारवाही गर्ने पनि अर्यालले भने। कामपाले गत असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरिरहे पनि वैशाख महिना भर्ना लिने महिना भएकाले विशेष रूपमा अनुगमन गरिरहेको हो।
हाल कामपामा १०० सामुदायिक विद्यालय र करिब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ। चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि कामपामा आवेदन परेको छ भने चालू रहेका विद्यालयमा कक्षा थपका लागि १०० निवेदन परेको छ।
विसं २०११ देखि नक्शाङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए तापनि विसं २०२८ मा आएको शिक्षा ऐनको आधारमा थप विद्यालयका लागि अनुमति दिइँदै आएको छ।रासस