नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन्। उनले बुधबार चारजना विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन्।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष समेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइजिना लामालाई केजीमा, रविन कार्कीलाई कक्षा ३ मा र प्यासिफिक महर्जनलाई कक्षा ८ मा भर्ना गरिदिएका हुन्।
उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक प्रदान गरेका थिए। साथै, पाँच कक्षा मुनिका तीन विद्यार्थीलाई दिवाखाजाको समेत व्यवस्था गर्ने जनाएका छन्।
सरकारको भर्ना अभियान र एक विद्यार्थी भर्ना मेरो सामाजिक दायित्व अभियान अन्तर्गत चारजना विद्यार्थीलाई विद्यालयमा भर्ना साथै उनीहरूको अभिभाकत्व ग्रहण गरेको महासंघका अध्यक्ष थापाले जानकारी दिए।
ती विद्यार्थीहरूलाई कक्षा १० सम्म लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने थापाले जानकारी दिए।
शिक्षा मन्त्रालयले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको छ।
यो अभियानकै क्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, प्रदेशका मुख्यमन्त्रीहरू, प्रदेशका मन्त्रीहरू, सांसदलगायतले पनि विभिन्न बच्चाहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालयमा भर्ना गराउँदै आएका छन्। मन्त्रालयले यसका लागि सबै सरोकारवालाहरूसँग आग्रह गरेको छ।
यसै अभियान अन्तर्गत शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले पनि चार जना बच्चाको अभिभावकत्व ग्रहण गरेका हुन्। नयाँ भर्ना गरिएका विद्यार्थीहरूको बुवाआमाको स्थानमा अर्केको नाम भए पनि अभिभावकको स्थानमा आफ्नो नाम हुने थापाले स्पष्ट पारेका छन्।
महासंघले चैत २७ गते एक विद्यार्थी भर्ना अभियानका सम्बन्धमा विज्ञप्ति जारी गर्दै विद्यालय भर्ना अभियान तथा स्वागत कार्यक्रम, विद्यार्थी टिकाउ र सिकाइ उपलब्धीमा सुधार कार्यक्रममा सक्रिय सहभागी बन्न सम्पूर्ण विद्यालय एवं शिक्षकहरूसँग आग्रह गरेको थियो।