नेपाल प्रहरीले प्रहरी खोजीमा रहेका व्यक्तिलाई आवतजावत गर्न नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अध्यागमनमा माइन्ड डिभाइस जडान गरेको छ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा प्रहरीले बिहीबारदेखि विमानस्थल र भैरहवाको अध्यागमनमा डिभाइस जडान गरेको हो।
डिभाइसले प्रहरी खोजीमा रहेका, रेडक्रनर नोटिस जारी भएका व्यक्तिको पासपोर्टलाई 'रिड' गर्छ।
यसअघि कुनै व्यक्तिलाई पक्राउ गर्न वा आवजावतमा रोक लगाउन प्रहरीले अध्यागमनलाई पत्रमात्र काट्ने गरेको थियो। सोही पत्रलाई अध्यागमनले आफ्नो डाटामा राख्ने गरेको थियो।
त्यसरी काम गर्दा प्रभावकारी नभएको र अपराधीहरू सहजै विमानस्थलबाट आवतजावत गर्ने भएकाले प्रहरीले उक्त डिभाइस जडान गरेको हो।
पहिलो चरणमा त्रिभुवन विमानस्थल र भैरहवा नाकाको अध्यागमनमा डिभाइस जडान गरिएको र यसलाई विस्तारै सबै अध्यागमनमा जडान गर्ने प्रहरीको तयारी छ।
'डिभाइसले नक्कली पासपोर्ट तथा इन्टरपोलको रेडर्कनर नोटिसमा रहेकाको विवरण पत्ता लगाउन सहयोग गर्छ,' प्रहरी स्रोतले सेतोपाटीसँग भन्यो, ' पहिलो चरणमा त्रिभुवन विमानस्थलको अध्यागमनको आगमन, प्रस्थान र भैरहवा अध्यागमनमा जडान गरेका छौ, पछि विस्तारै अन्य अध्यागमन कार्यालयमा पनि डिभाइस जडान गरिनेछ।'