युवासंघका केन्द्रीय सदस्य सुजु मल्ल गुण्डा नाईके मनोज पुनको सहयोगीको रूपमा बुधबार पक्राउ परेका छन्।
मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा काठमाडौंबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंमा पक्राउ परेका मल्ललाई भैरहवा लैजाने तयारी भइरहेको छ।
बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पूर्ण सूचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।
ती घटनाका समयमा दल र प्रहरी प्रशासनसँगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सबै सूचना मनोज पुनलाई उपलब्ध गराउँदै आएको प्रमाण प्रहरीले फेला पारेको हो।
‘मनोज पुनको प्रहरी ईन्काउन्टरको समयसम्म समेत मल्लले सूचना उपलब्ध गराएको भेटियो,’ एक अनुसन्धान अधिकृतले सेतोपाटीसँग भने।
प्रहरीले पक्राउ परेका मल्ललाई कर्तव्य ज्यान, जबर्जस्ती असुली, संगठित अपराध, हातहतियार खरखजानालगायतका मुद्दा लगाउने तयारी गरेको छ । अपराधमा विभिन्न कोणबाट भूमिका खेलेकाले उनीमाथस विभिन्न मुद्दा लगाउने तयारी गरेको प्रहरीले जनाएको छ।