भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा बुधबार रातिदेखि सम्पन्न भएको छ ।
गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा बुधबार साँझ गःहिटीबाट रथ तानेर सम्पन्न गरियो।
विसंअनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।
जात्राको अन्तिम दिन बुधबार साँझ गःहिटीबाट रथ तान्न शुरु गरिएको थियो। स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन्। स्थानीयले रथ तानेर वंशगोपाल पुर्याएपछि राति ९ बजे रथलाई तानेर पुनःनासमनातर्फ ल्याएका थिए।
जात्रामा हिंसा हुन नदिन १ हजार ३०० प्रहरी परिचालन गरिएको थियो।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेको छ ।
रथलाई तानिसकेपछि पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ।
बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।