स्थान तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरूवागाउँ। मुख्य बजारसँगै जोडिएको एउटा भिआईपी गल्ली।
भेडाको संख्या १ सय ७। त्यो बथानमा कति पाठा छन् त्यो उनलाई थाहाँ छैन।
दश बर्षे यमराज बस्नेतको भेडा चराउने एक मात्रै साथी उनको ‘गाजले’ नामको कुकुर हो। भेडा उनको नजरभन्दा टाढा जान खोज्दा यमराजले कराएर भने ‘ए गाजले जा घुमाएर ल्या।’
गाजले पनि कति ज्ञानी दौडेर गएर भेडालाई घुमाएर ल्यायो। कालो रंगको आँखामा गाजलजस्तै घेरा भएको उक्त कुकुरलाई सानैदेखि पालेको यमराजले बताए।
‘घर सल्यानको रिमखोला हो, पहिला हामी तुलसीपुरको डाँडापातु बस्थिम्,’ डाँडापातुकै एक विद्यालयमा दुई वर्ष अघि कक्षा दुईमा पढेको बताउने उनी अहिले पढाई भन्दा भेडा गोठालो हुनै रमाइलो हुने बताउँछन्।
यमराजले यस्तो बताउँदै गर्दा तुलसीपुरको बरूवागाउँ क्षेत्रका निजी स्कुलमा पढ्न चिटिक्क भएर विद्यार्थीको एक हुल उनकै नजिकबाट गइरहेका थिए।
उनलाई भने स्कुल जान पटक्कै मन नलाग्ने बताए। यमराज पढ्न नजानुको कारण अभावले भन्दा पनि अज्ञानता प्रमुख कारक थियो। त्यति धेरै भेडाका धनी यमराजलाई विद्यालयमा पढाउन वर्षमा एक दुई वटा भेडा बेच्दै पुग्ने थियो।
यमराजले आफू रातको समयमा भेडासँगै खुल्ला आकासमुनी सुत्ने गरेको बताए। उनी सही बोलेका थिए भन्ने प्रमाण यमराजले लगाएका कपडा नै काफी थिए।
उनको जीउका कपडा फोहोरले कट्कटिएका र दुर्घन्धित थिए। कलर कहिलै नकोरेको जस्तो देखिएका उनका नङ पनि लामा लामा थिए। उनको शरीरमा वरिपरि झिँगा झुम्मिएका थिए।
नजिकै केही गाई गोरू, बाख्रा र कुखुरा हुल्न पुराना कपडाले बेरेर तयार पारिएको नाम मात्रैको गोठ थियो।
उनले आफू पढेको विद्यालयको नामसमेत भन्न सकेनन्। ‘ठूला बा’ले भेडा बेचेर पैंसा राख्ने गरेको यमराजले बताए पनि उनका ‘ठूला बा’को नाम समेत उनलाई थाहा छैन।
आमा बाबाको नामसमेत थाहा नभएका उनको परिवारमा को को छन् भन्ने उनलाई पत्तै छैन।
तर उनले ‘ठूला बा’सँगै आफू र आफ्ना ‘बा आमा’पनि भेडासँगै खुल्ला आकासमा बास बस्ने र त्यही पकाएर खाने गरेको बताए।
‘बा आमा’ खै’त भन्ने प्रश्न गर्दा उनले घाँस खोज्न गएको भन्ने छोटो जवाफ दिए पनि अरू केही बोल्न मानेनन्।
मध्यान्ह १२ बजेतिर गर्मी चर्किँदै गए पछि भेडाको बथान खुल्ला आकासमा झुत्रा कपडाले बेरेर बनाएको गोठतर्फ दौडिए। चर्दै गरेका केही भेडा र साना पाठापाठीलाई भने यमराजले ‘गाजले कुकुर’लाई अह्राएर खोरमा हुल्न लगाए।
खोरभित्र भेडा पसिसकेपछि कुकुर पनि पस्यो र यमराज पनि पुरानो प्वालै प्वाल परेको टिनको पातोले ढोका बन्द गर्दै भेडासँगै लुकेर भित्रै बसे।
हामीलाई ‘कौवाको गू’ जस्तै बनाएका छन् – दयारामठीक त्यति नै बेला बजारबाट अन्दाजी ६५/७० वर्षका जस्ता देखिने उनका ‘ठूला बा’ आइपुगे।
उनले लगाएका कपडाको स्थिति पनि दश वर्षीय यमराजको भन्दा फरक थिएन।
उनी पनि सुरुमा बोल्न मानेनन्। धेरै आग्रह गर्दै पच्छयाउँदै जाँदा थनहा भयो उनको नाम दयाराम बस्नेत रहेछ। घर सल्यानको रिमकोटमा भएको उनले जानकारी दिए।
सल्यानबाट भेडा पाल्न उनीहरू विगत दुई तीन वर्षदेखि तुलसीपुर क्षेत्रमा बस्दै आएका हुन्।
उनी यसैगरी ठाउँ ठाउँ घुम्दै भेडा चराउन थालेको धेरै भयो। जहाँ भेडा राखिन्छ त्यही खुला आकासमा बस्ने उनीहरूलाई स्थानीयले सताउने गरेको बताए।
‘हामीलाई बजारका मान्छेले ‘कौवाको गू’ जस्तो बनाउँछन्। छिःछी र दुरदुर गर्छन्,’दयारामले भने, ‘हामीलाई कर्फ्यू लगाउन खोजेका छन्। तुरून्त यो ठाउँ छोड भन्ने उर्दी जारी गर्न थालेका छन्।’
उनले सभ्य भनाउँदा मानिसहरूले आफूजस्ता गरिखाने किसानको अपहेलना गर्ने गरेको बताए।
दुःखमा परेर घर छोडि भेडा चराउँदै मेहनत गरेर जीवन धान्दै आएको आफूलाई सत्रु लागेको बताए। ‘बुहारीलाई कुटेर जबरजस्ती भेडा खोसेर लगे। ६/७ वटा भेडा हराए, चोरी भयो,’ दयारामले भने।
उनले हामीसँग धेरै कुरा नगर्ने भन्दै तपाईँहरू पनि सुराकी र सिआईडी पो हो कि के था?’, उनले भने,‘ तपाईँसँग कुरा गरेर के गर्नू? पैंसा मिल्ने हैन, बरू झनै सत्रू लाग्लान्।’
उनले आफ्नो विगत र वर्तमान तथा परिवारको सदस्यका बारेमा थप केही भन्न चाहेनन्।
यमराजलाई स्कूल किन नपठाएको भन्ने प्रश्नमा उनले भने,‘पढेर मन्त्री र प्रधानमन्त्री हुने होइन। बेकारमा पढेर के काम? बरू भेडा चराए खान पाउला।’
देशको राजनीतिको बारेमा केही चासो नभएको भन्दै उनले को मन्त्री र को के छ केही थाहा नभएको बताए।
विद्यार्थी भर्नाको लागि करोडौं रकम खर्च गर्ने सरकारको नजर यमराज जस्ता बालकमा कहिले पुग्ला?
हेर्नुहोस् थप तस्बिरहरू