अवैध रूपमा नेटवर्किङ ब्यवसाय गरि ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले नेटवर्क बिजनेसका नाममा ७ हजार ८ सय २४ जनालाई ठगी गरेको भन्दै ७ जनालाई पक्राउ गरेको सीआईवीका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए।
पक्राउ पर्नेमा कम्पनी सञ्चालक काभ्रे पाँचखालका राजकुमार दंगाल, दोलखा लामिडाँडाँका नारायण सिवाकोटी, रामेछाप बखालीका भक्तबहादुर नेपाली, रामेछापकै रविन नेपाली, सोलुखुम्बुका प्रदिप राई, रामेछापकी तिर्सना सुनुवार र सामेछापकै पुर्णबहादुर श्रेष्ठ छन्।
उनीहरुले ‘आई बोस ग्लोबल मार्केटिङ’को सदस्यता बनाएर ७ हजार ८ सय २४ जनालाई ठगी गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उनीहरुलाई चुच्चेपाटीस्थित कार्यालयबाट बुधबार पक्राउ गरिएको हो। उनीहरुसँगै ६६ जनालाई नियन्त्रणमा लिए पनि बाँकीलाई आवश्यक परेका बेला आउने गरी छाडिएको र ७ जनालाई ठगी मुद्दा चलाइएको प्रवक्ता श्रेष्ठले बताए।
२०७४ पुस २१ गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरिएको भए पनि कम्पनी दर्ता गर्दाको सर्तभन्दा बाहिर गएर नेटवर्क ब्यवसाय गरेको र गैरकानुनी ढंगबाट सदस्यता वितरण गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको ब्यूरोको भनाई छ।
पक्राउ परेका नारायण सिवाकोटीले मात्र ५ हजार ८ सय ८९ जनालाई सदस्यता बनाएका छन्। त्यसैगरी रवि नेपालीले एक हजार ४२ जनालाई सदस्यता बनाएका छन्।
त्यस्तै भक्त नेपालीले २५०,प्रदिप राईले ३०१, तिर्सनाले २०० र पूर्णबहादुरले २२१ जनालाई सदस्यता बनाएका छन्।
१५ हजार ९ सय र ८० हजारको प्याकेजसहित उनीहरुले सदस्यता बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरुले सदस्यता बनाउँदा दिएको १५ हजार ९ सय तथा ८० हजारको रूपैयाले उनीहरुको अनलाईनमा उपलब्ध समान खरिद गर्नुपर्छ। सदस्यता बनेकाले तत्काल सदस्यता थप्दै जाँदा उनीहरुलाई कमिसन बढ्दै जाने गरेको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राजकुमार सञ्चालक हुन् भने, बाँकी अन्य सदस्यता बनाउने भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सिवाकोटी यसअघि युनीटी ठगीमा २ वर्ष जेल बसेर निस्किएका थिए।
यसको शाखा कार्यालय उपत्यकाबाहिर पोखरा, दाङ सुनसरीलगायतका जिल्लामा रहेको सीआईवीले जनाएको छ।
शाखा कार्यालय अन्तर्गतका सदस्य बनाउनेलाई पनि नियन्त्रणमा लिइने ब्यूरोले जनाएको छ। उनीहरू मध्ये कसले कति ठगी गरे भन्ने बारेमा अनुसन्धान भईरहेको ब्यूरोको भनाई छ।