काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको बताएको छ।
भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक,मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै शुरु नभएको भन्दै पुनर्निर्माणमा तदारूकता देखाउन माग गरेको हो।
अभियानले काष्ठमण्डप पुनःनिर्माणका लागि २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै विश्व सम्पदा संरक्षण मापदण्डअनुरुप समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने सो अभियानका अध्यक्ष बैकुण्ठ मानन्धरले एक विज्ञप्ति प्रकाशित गर्दै बताएका छन्।
सरकारी निकाय, सरोकारवाला, विज्ञहरु र समुदायसँगको अन्तक्रियामा जनस्तरबाटै सम्पदाको पुनःनिर्माण गर्ने निष्कर्ष निकालिएको मानन्धरले बताए।
सातौँ शताब्दीमा निर्मित काष्ठमण्डपको जनस्तरबाटै पुनः निर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा पुनः निर्माण गर्न सक्षम छौँ भन्ने सन्देश दिनुपर्ने विज्ञप्तिमा उल्लेख उल्लेख गरिएको छ।
हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ विश्व सम्पदा सूचीमा परेको र नेपालकै प्राचीनतम संरचनामध्येको काष्ठमण्डप (मरू सत्तल) पनि २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट भत्केको थियो। भूकम्पबाट भत्केकामध्ये सबैभन्दा मौलिक र महत्तवपूर्ण सम्पदा काष्ठमण्डपको पुनर्निर्माणप्रति भने सरकारी निकाय उदासीन देखिए। फलस्वरूप, जनसधारण र राज्यको ध्यानाकर्षण गरी समुदायको स्वामित्वमा विश्व सम्पदा संरक्षण मापदण्डअनुरूप काष्ठमण्डपको पुनर्निर्माणका लागि ध्यानाकर्षण गर्न काष्ठमण्डप पुनर्निर्माणको लागि अभियान २०७२ सालको जेठमै सुरु गरिएको थियो।सरकारी निकायहरू, सरोकारवाला विज्ञ, समुदायसमेतसँगको अन्तक्र्रियापछि जनस्तरबाटै सम्पदाको पुनःनिर्माण हुनु आवश्यक र सम्भव भएको निष्कर्ष निकालियो। हुन पनि विश्वको कुनै पनि सभ्यतासँग दाँज्न सकिने हाम्रा सम्पूर्ण सम्पदा शताब्दीयौं पहिले आफ्नै सीप र सामर्थ्यले हाम्रा पुर्खाले बनाएका थिए। हामी अझै पनि ती सम्पदाको पु्नर्निर्माण गर्न सक्षम छौँ। यही अठोटसहित हामीले सातौं शताब्दीमा निर्मित पुरातात्विक सम्पदा काष्ठमण्डपको जनस्तरबाटै पुनःनिर्माण गरेर विश्वसामु नेपालीहरू पुरातात्विक सम्पदा पुनःनिर्माणका लागि सक्षम र सजग छन् भन्ने सन्देश दिने प्रण गरेका हौँ।यस कार्यलाई अधिकारिकरूपमा अगाडि बढाउन संस्थागत व्यवस्था आवश्यक भएको हुदाँ २०७३ चैत्र ३१ गते “काष्ठमण्डप पुनःनिर्माणको लागि अभियान” संस्था दर्ता भयो। त्यसपछि मिति २०७४ वैशाख २९ का दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र यस संस्थाबीच काष्ठमण्डप जनस्तरबाटै पुनःनिर्माण गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। सहमति हुनेबित्तिकै काष्ठमण्डप पुनर्निर्माणका लागि तयारी गर्न लागेका थियौँ। सांस्कृतिक महत्त्वका यस्ता सम्पदासँग जोडिएका प्रथा र परम्परा अर्थात् अमूर्त सम्पदाका कारण जीवन्त हुन्छन्। अमूर्त सम्पदा समुदायको अभिन्न अंग र जीवनशैली बनेको हुन्छ। यसैले काष्ठमण्डपका अमूर्त सम्पदा र संरचना दुवैको संरक्षण र पुनर्निर्माणलाई अभियानले सँगसँगै अगाडि बढाउने रणनीति अपनाएको हो। यही क्रममा सबैभन्दा पहिले काष्ठमण्डपको जगको संरक्षण तथा भग्नावशेष र काष्ठ सामग्रीको अभिलेखन हुनु आवश्यक देखेर सो कार्य थालिएको थियो। तर, काठमाडौं महानगरपालिकाले अभियानलाई जग संरक्षण कार्य गर्न रोक्यो। जग संरक्षण सबैभन्दा महत्त्वपूर्ण र तत्काल गरिहाल्नुपर्ने कार्य हुनो हामीले तयार गरेको नक्सा र ल्याएको केही निर्माण सामग्रीसमेत महानगरपालिकालाई उपलब्ध गरायौँ। यो हाम्रोतर्फबाट देखाइएको सदाशय थियो। तर, महानगरपालिकाबाट त्यहीअनुसारको व्यवहार भएन। निर्वाचित जनप्रतिनिधिबाट समुदायकै अगुवाइमा काष्ठमण्डप पुनर्निर्माण अनुष्ठानलाई सहयोग हुने अपेक्षा पूरा भएन। फलस्वरूप, बितेको एक वर्ष पनि काष्ठमण्डप पुनर्निर्माणमा भौतिक प्रगति हुन सकेन।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै अगुवाइमा सबै सम्बद्ध सरकारी निकायले काष्ठमण्डपको पुनर्निर्माण महानगरपालिकाले नै गर्ने एकतर्फी निर्णय गरेपछि हामीले अमूर्त सम्पदाको संरक्षण र काष्ठमण्डपको नक्साका सम्बन्धमा प्राविधिक कार्य गर्नेबाहेक अरू काम गर्न पाएनौ। दुर्भाग्य, यसबीच अर्को वर्ष त्यसै खेर गयो। काष्ठमण्डपको पुनर्निर्माण सुरु नै भएन भने काष्ठ सामग्रीको संरक्षण र अभिलेखन पनि हुन सकेन।हामीले जीवित देवी कुमारी समक्ष काष्ठमण्डप पुनर्निर्माण गर्ने प्रतिज्ञा गरेका थियौँ। हामी अझै पनि त्यसमा प्रतिबद्ध छौँ। काष्ठमण्डपको पुनर्निर्माणमा एक वर्ष खेर गइसकेको छ। हामी अर्को वर्ष खेर नजाओस् भन्ने विनम्र आग्रह सरकारी निकायसँग गर्न चाहन्छौँ।काष्ठमण्डप नेपालकै हालसम्म संरक्षित सबैभन्दा पुरातात्विक सम्पदा हो। सबैभन्दा ठूलो सेवामुखी तथा समाज केन्द्रित संरचनाका रूपमा रहेको यो सत्तल हाम्रो जीवनशैलीको जीवन्त उदाहरण हो। काठ, माटो, इट्टा, ढुंगा आदि प्रयोग गरी बनाइएको हाम्रो मौलिक वास्तुकलाको दिव्य नमुना हो। हिन्दु, बौद्ध धर्म लगायत हाम्रो विभिन्न संस्कृतिक क्रियाकलाप तथा दैनिक जीवनसँग गहिरो सम्बन्ध रहेको सम्पदा हो। विश्व सम्पदा क्षेत्रमा रहेको यस सत्तल हाम्रो इतिहास, संस्कृति, प्रविधि र ज्ञानको भण्डार हो।यसैले नेपाल मण्डलको सभ्यता समग्रमा नेपालकै सभ्यताको अनुपम प्रतीक काष्ठमण्डपको पुनःनिर्माण विश्व सम्पदाकै मापदण्डअनुसार हुनुपर्छ भन्ने मान्यता राखेर पुनःनिर्माणको प्रयास थालिएको हो।हाम्रो पहिलो आग्रह हो — काष्ठमण्डपको पुनर्निर्माण यथाशीघ्र हुनुपर्छ। पुनर्निर्माण गर्दा समुदायले अपनत्व ग्रहण गर्नेगरी विश्व सम्पदा संरक्षणका मापदण्ड र मान्यताअनुरूप हुनुपर्छ। काष्ठमण्डप पुरानै शैलीमा मात्र हैन परम्परागत निर्माण प्रविधि र सीपकै प्रयोग गरेर पुनर्निर्माण हुनुपर्छ। सकेसम्म पुरानै निर्माण सामग्रीको पुनः प्रयोग गरिनुपर्छ। पुनर्निर्माणको प्रत्येक चरणमा समुदायको संलग्नता र सहभागिताका साथै अमूर्त सम्पदाको संरक्षण पनि हुनुपर्छ।यसरी पुनर्निर्माण गर्न विशेषगरी नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण विश्व सम्पदा सूचीको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सामान्य भौतिक संरचना निर्माण गर्ने ठेक्कापट्टा प्रथाबाट हुनसक्तैन भन्ने हाम्रो दोस्रो मान्यता हो। यसको विकल्प हुनसक्छ — अमानतबाट पुनर्निर्माण गर्नु। तर, यस्तो अमानत प्रचलित शैलीको कर्मचारी नियन्त्रित हुनुहुँदैन।समुदायको सहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्न काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान अझै पनि अगुवाइ गर्न तत्पर रहेको बेहोरा हामी दोहो¥याउन चाहन्छौँ। यसका लागि हामी महानगरपालिकालगायत सरकारी निकायबाट हुने सहयोग लिन पनि तयार छौँ। तर, सरकारी स्तरबाट आर्थिक सहयोग नभए पनि जनस्तरबाट सहयोग संकलन गरेर पुनर्निर्माण कार्य सम्पन्न गर्ने आत्मविश्वास हामीलाई छ। यसक्रममा हामी कुनै पनि प्रकारको विदेशी सहयोग नलिनेसमेत स्पष्ट पार्न चाहन्छौँ। काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानको एउटा उद्देश्य विश्वसामु नेपालीहरू पुरातात्विक सम्पदा पुनःनिर्माणका लागि सक्षम र सजग छन् भन्ने सन्देश दिनु पनि हो। साथै, हामी सम्पदाको पुनर्निर्माणमा समुदायको नेतृत्व र संलग्ताको मोडल पनि निर्माण गर्न चाहन्छौँ। यसैले हामीले काष्ठमण्डप पुनर्निर्माणका लागि अगुवाइ गर्ने दृढता देखाएका हौँ।हामी पुनः दोहो¥याउन चाहन्छौँ — हाम्रो मूल ध्येय भने काष्ठमण्डपको पुनर्निर्माण हो। त्यसक्रममा समुदायको निर्णायक सहभागिता र विश्व सम्पदा संरक्षणको मापदण्डको पालना हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले काष्ठमण्डपको पुनर्निर्माण गर्ने अनुष्ठानको नेतृत्व लिनु सरकारी निकायहरू र काठमाडौं महानगरपालिकालाई स्वीकार्य हुँदैन भने पनि हाम्रो मान्यताअनुरूप पुनर्निर्माण हुने भएमा हामी हरसम्भव सहयोग गर्न तत्पर छौँ।यसबीच, हामीले काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक प्राविधिक तयारीका केही महत्त्वपूर्ण कार्य गरेका छौँ। काष्ठमण्डपप्रति समर्पित विभिन्न क्षेत्रका विशेषज्ञ जनशक्ति हामीसँग स्वयंसेवीका रूपमा आबद्ध छन्। हाम्रो अनुभव, ज्ञान र सीप सबै काष्ठमण्डप पुनर्निर्माण अनुष्ठानमा समर्पण गर्न तत्पर छौँ भन्ने पनि यहाँ दोहो¥याउन चाहन्छौँ। साथै, काष्ठमण्डपलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माणमा संरक्षणका मान्यता र मापदण्डका साथै समुदायको निर्णायक संलग्नताको उपेक्षा गरिएमा त्यसको सशक्त विरोध गर्न पनि हामी पछि हट्ने छैनौ भन्ने समेत हामी यहाँ जनाउन चाहन्छौँ। बैकुण्ठ मानन्धरकार्यवाहक अध्यक्षकाष्ठमण्डप पुनर्निर्माणका लागि अभियानतहबील, मरु, काष्ठमाडौं।