प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका छन् ।
राष्ट्रिय विद्यार्थी भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री भट्टले आफ्ना छोरीहरूलाई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालय भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट कक्षा १० र कान्छी छोरी पुनम भट्ट कक्षा ८ मा पढ्छिन्।
मुख्यमन्त्री निवासबाट छोरी पढ्ने स्कुल दुई सय मिटर दुरीमा छ।
पुनम र लक्ष्मी यसअघि केआईसिंह गाउँपालिका–६ स्थित देवस्थल माध्यमिक विद्यालय पढ्दै आएका थिए।
मुख्यमन्त्री भट्टले सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण प्रदेश सरकारले बनाउने बताए। सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उनले जोड दिए। प्रदेश सरकारले यसका लागि नीति बनाउने काम भइरहेको उनले बताए।
कक्षा ८ सम्म अध्ययन गरेका मुख्यमन्त्री भट्ट पनि सरकारी स्कुलमै पढेका हुन। उनी डोटीको केआइसिह गाउँपालिका–६ स्थित देवस्थल प्राथमिक विद्यालय (हालको माध्यमिक विद्यालय) मा पढेका थिए। पढाइ छाडेर रोजगारका लागि भारत पुगे। उनले लामो समय भारतमै काम गरेका थिए।
प्रदेश ७ मा ६ हजारभन्दा बढी विद्यालय बाहिर
प्रदेश नम्बर ७ मा ६ हजार ४ सय २२ बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ।
क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा दुई हजार तीन सय ९४, बाजुरामा चार सय ३२, बझाङमा पाँच सय १४, अछाममा एक हजार एक सय ५६, डोटीमा चार सय ७७, दार्चुलामा दुई सय ६३, बैतडीमा एक सय १४, डडेल्धुरामा तीन सय ३२ र कञ्चनपुरमा छ सय ४० बालबालिका स्कुलको पहुँचभन्दा बाहिर छन्।