अपराधिक घटना नियन्त्रणमा 'ब्रेक थ्रु' गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुण्डा नाइके मनोज पुनका मुख्य सहयोगीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तुल्सीराम न्यौपाने हरी श्रेष्ठको उद्योगका म्यानेजर हुन् ।
प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताए।
उनीहरुले मनोज पुनका लागि सूराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिईएको उनले बताए । पक्राउ परेका मध्ये उत्तम आचार्य एमाले कार्यकर्ता हुन् भने लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता हुन् ।
दुवैको पार्टी केन्द्रीय नेताहरुसँग सिधा सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए।
पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।