दुवैतर्फ हरियाली रूखसहितको शितल र शान्त सडक। धुलो धुँवा र व्यस्त सडक छिचोलेर भैरहवादेखि अगाडि बढ्ने वित्तिकै आउने हरियाली र छहारी सहितको सडकले त्यहाँ पुग्ने जो कोहीलाई आनन्दित बनाउने गर्थ्यो।
जेठ असार महिनामा त झनै सडकको दायाँ बायाँ बोटभरी लटरम्म फलेका आँपले लोभ्याउने गर्दथ्यो। पछिल्लो समय भैरहवा-लुम्बिनी खण्डको यो सडकको परिचय फेरिएको छ ।
भैरहवादेखि लुम्बिनी सम्मको २२ किलोमिटरको यात्रा अवधीभर शितलता दिने रूखहरू मासिदै गएका छन्। हाल अत्यन्त साँघूरो दुईलेनमा रहेको भैरहवा-लुम्बिनी सडकखण्डसँगै लुम्बिनीहुँदै तौलिहवासम्मको सडक पनि चारलेनमा स्तरोन्नती सुरू भएको छ।
स्तरोन्नती गर्न शुरू गरेपछि सडकको दायाँबायाँ रहेका २ हजार १ सय वयस्क रुखहरु काटिँदै छन्।
सडक सुधार आयोजनाले सडक विस्तारको क्रममा काटिएका २१ सय रुखको बदला ५१ सय रुख रोप्ने योजना बनाएको दाबी गरे पनि अहिलेको जस्तो हरियाली बनाउन भने वर्ष कुर्नुपर्ने छ।
भैरहवामा निर्माण भईरहेको गौतमबुद्ध विमानस्थलको निर्माण सम्पन्नसँगै यहाँ आउने पर्यटकहरुको चाप बढ्ने र उनीहरूको मुख्य गन्तव्य लुम्बिनी हुने भएकोले पनि भैरहवा लुम्बिनी सडकखण्डको स्तरोन्नती आवश्यक थियो।
अहिले भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको ३ दशमलव ६८ किलोमिटर सडकलाई ६ लेनको बनाईदै छ। विमानस्थल चोकदेखि लुम्बिनीको पर्साचोक सम्मको १४ दशमलव ४२० किलोमिटर सडक ४ लेनको बनाउन लागिएको छ।
भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले २ लेनको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको २३.३ किलोमिटर सडकलाई २ लेनको निर्माण गर्ने गरी काम अगाडि बढाईएको छ । उक्त सडक अहिले एक लेनमा छ ।
६ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दुई दुई लेनको सडक र दायाँबायाँ एक एक सर्भिस लेन सहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाईएको छ। त्यस्तै सडकको दायाँवायाँ ३६ वटा यात्रु प्रतिक्षालय निर्माण हुनेछन्।
हाल रहेको कालोपत्रेलाई केन्द्र विन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दायाँबायाँ गरी चौडा बनाईने छ। सडक स्तरोन्नतीको काम २०१९ डिसेम्बर २२ मा सम्पन्न हुने आयोजनाको लक्ष्य छ।
सडक सुधार आयोजना भैरहवा-लुम्बिनी-तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले अहिले सडक दायाँबायाँ माटो हालेर पुर्ने, रुखको कटानी गर्ने, विद्युत् र टेलिफोनका खम्बा सार्ने र पुल निर्माण गर्ने लगायतका कामहरु भईरहेको जानकारी दिए।
अबको दुई वर्ष पछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन। नत जाममा नै फस्नुपर्ने छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलबस्तु तौलीहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो ।
भैरहवा-तौलिहवा जोड्ने सडकको स्तरोन्नती गर्ने कार्य तिव्र रुपमा अगाडि बढाईएको छ ।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भईरहेको सडकको प्राविधिक कामहरुको समन्वय, निगरानी र परिक्षण कोरिया ईन्जिनीयरिङ कन्सल्टेन्टले गर्ने बताईएको छ ।
करिब १ अर्ब ९३ करोडको लागतमा निर्माण भईरहेको यो सडकले तौलिहवा लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने छ।
त्यसको साथै तरकारी र अन्न भण्डारको रुपमा रहेको रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा उत्पादन हुने तरकारी तथा अन्य कृषि उत्पादनलाई बजारसम्म पुर्याउन समेत सहज हुने विश्वास गरिएको छ ।