विद्यालय जाने उमेर (पाँच वर्षदेखि नौ वर्षसम्म) का ४ सय ७२ जना बुटवल क्षेत्रका बालबालिका गतवर्ष विद्यालय बाहिर रहे।
सरकारले देशभर उमेर पुगेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउने अभियान सुरू गरे पनि सबै बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेनन्। अभियानको क्रममा भर्ना भएर बीचमै कक्षा छोड्नेहरूको संख्या पनि त्यो भन्दा धेरै छ।
यस्तै, समस्यालाई मध्यनजर गर्दै बालबालिकालाई विद्यालय भर्ना नगर्ने र नियमित विद्यालय नपठाउने अभिभावकलाई बुटवल उपमहानगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधा रोकिने भएको छ।
विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना नगराउने र भर्ना गराए पनि विद्यालय नपठाउने अभिभावकको लगत संकलन गरी कार्यालयमा पठाउन सबै वडा कार्यालयहरूमा निर्देशन गरेको उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिए।
अधिकांश सुकुम्बासी बस्तीका बालबालिकाहरू विद्यालय भर्ना भए पनि केही समयपछि विद्यालय नजाने गरेको पाइएकोले वर्षैभरी विद्यालय पठाउन अभिभावकलाई दबाब दिन पनि सेवा सुविधा रोक्ने निर्णय गरिएको उनले बताए।
सुवेदीले अभिभावकहरूमा चेतना नआएसम्म बालबालिकालाई विद्यालयसम्म ल्याउन नसकिने भएकोले भर्ना अभियानसँगै उपमहानगरपालिकाबाट उपलब्ध गराउने कुनै पनि सेवा सुविधा उपलब्ध नहुने समेत सूचना प्रवाह गर्न सबै वडा कार्यालय र मातहतका ईकाइलाई निर्देशन गरिएको जानकारी दिए।
उपमहानगरपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न सहजीकरण गर्न नगरका सबै १९ वटै वडा कार्यालयलाई निर्देशन दिएको छ।
साथै, उपमहानगरपालिकाले भर्ना भएका विद्यार्थीलाई विद्यालयमा नियमित गर्न र गुणस्तरीय शिक्षाको विकास गर्न पनि विद्यालय, शिक्षक र सबै अभिभावकसँग सार्वजनिक आह्वान गरेको छ।
हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ आइतबारदेखि देशभर भर्ना अभियान सुरू भएको छ। विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका बालबालिकालाई भर्ना गर्ने लक्ष्यका साथ यो अभियान सुरू भएको हो।
बुटवलमा अहिले ३९ वटा सामुदायिक विद्यालय रहेका छन्। प्रारम्भिक बालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाइ केन्द्रको संख्या पाँच रहेको छ। यीमध्ये एउटा केन्द्र भने हाल बन्द छ। यस्तै, संस्थागत विद्यालयको संख्या ६२ रहेको छ।
वैशाख १ गतेदेखि १४ गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीका लागि पूर्ण सेटमा पाठ्यपुस्तक उपलब्ध गराउन र उनीहरूलाई हौसला प्रदान गर्ने गरी स्वागत सत्कारका कार्यक्रम गर्न सबै वडाहरूमा पत्राचार गरिसकेको शिक्षा इकाइ प्रमुख लोकराज पन्थीले जानकारी दिए।
पहिलो चरणमा भर्नामा नआएका बालबालिकालाई वैशाख १५ देखि ३० गतेसम्म भर्ना गराउने र त्यसका लागि सरकारी कर्मचारी र शिक्षकलाई घरदैलोमै पुगेर भर्नाका लागि आह्वान गर्न समेत आग्रह गरिएको छ।
दैनिक ७ सय बालबालिकालाई खाजा खर्चबुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न बालबालिकालाई दैनिक खाजा खर्च उपलब्ध गराउँदै आएको छ।
विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकालाई दैनिक २० रुपैयाँका दरले अभिभावक मार्फत् खाजा खर्च उपलब्ध गराउँदै आएको शिक्षा इकाइका प्रमुख पन्थीले जानकारी दिए।
यस्तै, सामुदायिकमा आधारभूत तहमा अध्ययन गर्ने सबै छात्राहरूलाई वार्षिक चार सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
यस्तै, आधारभूत तहका सबै दलित विद्यार्थीहरू, माध्यमिक तहका सबै दलित विद्यार्थीहरूलाई पनि वार्षिक चार सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
केही विपन्न बालबालिकाहरूका लागि पनि उपमहानगरले माध्यमिक तहमा विशेष छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ।