लुम्बिनी बौद्ध विश्व विद्यालयबाट स्नातकोत्तर र विद्यावारिधी उत्तिर्ण विद्यार्थी पहिलोपटक दीक्षित हुँदैछन्।
२०६९ सालदेखि शैक्षिक कार्यक्रम सुरू गरेको विश्व विद्यालयबाट २५६२ औं बुद्ध जयन्तीको अवसर पारि पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो।
विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले वैशाख १६ गते बुद्धजयन्तीको अवसर पारि पहिलो पटक १ सय ७ जना विद्यार्थी दीक्षित हुने जानकारी दिए।
जसमध्ये विद्यावारिधी गरेका १६ जना र बुद्धिज्मसम्बन्धी विभिन्न विषयमा स्नातकोत्तर उत्तिर्ण ९१ जना दीक्षीत हुँदैछन् । विद्यावारिधी गरी दीक्षित हुने २ जना छात्रा रहेका छन्।
सरकारले २०६३ सालमा बौद्ध विश्वविद्यालयको स्थापना गरे पनि पठनपाठन भने २०६९/०७० सालदेखि सुरू भएको हो।
२०६९/०७० देखि २०७१/०७२ सम्म करिब ३ सय जना विद्यार्थीले विद्यावारिधी र स्नातकोत्तर उत्तिर्ण गरे पनि दीक्षितको लागि १ सय ७ जनाले मात्र फारम भरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त डिन माणिक रत्न शाक्यले जानकारी दिए।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने दीक्षान्त समारोहमा श्रीलंकाको बुद्धिष्ट एण्ड पालि युनिभर्सिटि अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राध्यापक डाक्टर गल्ल्याले सुमन सिरी थेरोलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको बताइएको छ।
सोही अवसरमा प्राध्यापक रञ्जना इञ्जिनियर भत्तानन्द बज्राचार्य स्वर्ण पदकसहित दुईवटा ५० हजार पुरस्कार राशीका सारदा बज्राचार्य स्मृति पुरस्कार र साल्ट ट्रेडिङ पुरस्कारसमेत ५० हजार रुपैयाँका २ वटा पुरस्कार समेत वितरण गरिने रजिष्ट्रार आचार्यले जानकारी दिए।
विद्यावारिधीबाट पठनपाठन सुरू गरेको बौद्ध विश्वविद्यालयमा हाल स्नातकदेखि विद्यावारिधिसम्म ४ सय ४७ विद्यार्थी अध्ययनरत रहेका छन्।
रजिष्ट्रार आचार्यले संसारभर बुद्धिजमप्रति आकर्षण बढेको र लुम्बिनीमा आई बौद्ध शिक्षा लिन ईच्छुक देखिए पनि नेपालमा अझै पनि बुद्धिजमप्रति त्यति चासो नबढेको बताए।
उनले नेपालका विभिन्न क्षेत्रका गुम्बाहरूमा अनौपचारिक रूपमा दशौं हजारले बुद्धिजम अध्ययन गरिरहेको दाबी गर्दै उनीहरूलाई औपचारिक शिक्षामा ल्याउन जरुरी रहेको बताए।