तस्करीको ३३ किलो सुन गायव पछि भरिया सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्।
सनमको हत्याको छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिहदरबारमा थुनामा राखिएका नेपाल एयरलाइन्सका लोडरल प्रेमलाल चौधरीले आत्महत्या गरेका हुन्।
बिहीबार प्रहरी थुनामा रहेका चौधरीले लगाएको सुरुवालले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको प्रहरी स्रोतले जानकारी दियो।
सेतोपाटीसँग कुरा गर्दै प्रहरी स्रोतले भन्यो-३० वर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्सका लोडरको रूपमा काम गर्ने चौधरीलाई सनम हत्या काण्डको छानबिन समितिले थुनामा राख्न पठाएको थियो, आफ्नो पोल खुल्ने डरले उनले आत्महत्या गरेको हुनुपर्छ।
चौधरीको शव पोष्टमोर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
फागुन पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको ३३ किलोग्राम तस्करी 'गायब' भयो। भरिया मोरङ उर्लाबारीका सनम शाक्य लगायतका व्यक्तिले गायब बनाएको भन्दै तस्करले सुनको खोजी थाले।
शाक्यलाई काठमाडौंको गौरीघाटबाट नियन्त्रणमा लिएर तस्कर समूहले सिरहाको जंगलमा पुर्यायो। हराएको सुनबारे ओकल्न लगाउन शाक्यलाई उनीहरूले करेन्टसमेत लगाएर यातना दिए। यातनाबाट शाक्यको मृत्यु भयो।
आफू फस्ने डरले तस्करहरूले नै प्रहरीलाई शाक्यको मृत्यु भएको खबर गरे।
तस्करको खबरपछि महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसीको कमाण्डमा एक टोली पूर्व पुगेको थियो। शाक्य हत्याको अनुसन्धान गर्न बनेको समितिले १२ जनालाई पक्राउ गरेको छ।
उक्त टोलीले शाक्यसँगै यातना पाएका उर्लाबारीका–७ का नरेन्द्र कार्की मोहन काफ्ले र सवारी चालक चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर हत्या उनीहरूले नै गरेको घटना विवरण सार्वजानिक गरेको थियो।
त्यसको केही दिनपछि मल्ल र काफ्लेका आफन्तले शाक्यको हत्यामा आफूहरू संलग्न नभएको बरू प्रहरीले घटनालाई तोडमोड गर्न खोजेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गरे। उनीहरूको उजुरीपछि गृहले समितिनै बनाएर छानबिन थालेको थियो।
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वमा समितिले घटनामा प्रहरी अधिकारीकै भूमिका शंकास्पद रहेको बतायो।
समितिकै सिफारिसमा प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संज्याललाई जिम्मेवारीबाट हटाएको छ।
‘महाशाखाका केही अधिकारीसँग सुन तस्करको राम्रो कुरा भएको देखियो’, अनुसन्धान समितिका एक अधिकारीले सेतोपाटीसँग भने,‘महाशाखाका केही अधिकारी र तस्करीको सुन भित्र्याउने र हराएपछि हत्यासम्म गर्नेहरूको सम्बन्ध छ, हामी अनुसन्धान गर्दैर्छौं।’
चुडामणि उप्रेती ‘गोरे’ले उक्त सुन फागुन पहिलो साता नेपाल भित्र्याएका थिए। तर उक्त सुन भरियाले बीच बाटोबाटै गायब बनाएका थिए।
गोरेलाई प्रहरीले अझै समाउन सकेको छैन। हराएको सुन खोज्न भन्दै महानगरीय अपराध महाशाखाका केही अधिकारीसँग सहयोग मागेपछि उनैको सल्लाहले शाक्यलाई ओकलाउन गौरीघाटबाट सिराहको जंगलमा लगिएको स्रोतले बतायो।
सनम हत्यापछि फरार गोरे यसअघि पनि सुनकाण्डमा मुछिएका थिए। तर माथिल्लो सेटिङ मिलाएरै गोरेले त्यसबेला उन्मुक्ति पाएका थिए।
एक वर्षअघि ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन काण्डमा पनि गोरेकै संलग्नता रहेको प्रहरीले दाबी गरेको छ। तर, उनले ब्यूरोका तत्कालीन उच्च अधिकारीसँग मिलेर आफ्नो नाम हटाउन लगाएका थिए।
छानबिन समितिले अहिलेसम्म २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा राजधानीको न्यूरोडमा रहेको आरके ज्वेलर्सका मालिक पनि छन्। उनी यसअघि पनि साढे ३३ किलो सुन बरामद् हुँदा पनि पक्राउ परेर धरौटीमा रिहा भएका थिए।