नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याललाई बिदाई गरिएको छ। बुधबार साँझ प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा अर्याललाई बिदाई गरिएको हो। यसैबीच नवनियुक्त प्रहरी प्रमुख सर्वेन्द्र खनालले आजै कार्यभार समालेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व आइजिपी अर्यालले संगठनमा आफ्नू भूमिका र काम राम्रो रहेको बताए। छोटो समयको अवधिमा आफूले संगठनको हितको लागि मात्र काम गरेको दाबी गरे।
‘आफूले पाएको छोटो समयमा प्रभावकारी काम गरेँ। संविधानको कार्यान्वयन र तीनै तहको निर्वाचनमा आफ्नो नेतृत्वको संगठनले महत्वपूर्ण भूमिमा खेलेको छ,’ उनले भने,‘निर्वाचन विरोधीको बिचमा पनि सहज रूपमा निर्वाचन सफल गराउन सफल भएँ।’
नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालले ३० वर्षे सेवाहदका कारण अवकाश पाउने भएपछि मंगलबार सरकारले खनाललाई आइजिपी नियुक्त गरेको थियो।
खनालले दर्ज्यानी फूली भने बिहिबार लगाउने कार्यक्रम छ। गृह मन्त्रालयले बिहिबार बिहान दुबै प्रहरीका प्रमुखलाई फूली लगाउने कार्यक्रम राखेको छ।
गृहसचिवले नवनियुक्त आइजिपीलाई फूली लगाइदिने प्रचलन छ।
नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआइजी, ९ जना डिआइजी र एक जना एसएसपीले आजबाट अवकाश पाउँदैछन्।
अवकाश पाउने सबै अधिकारीलाई एकैपटक बिदाई गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ।
अवकाश हुन लागेका एआइजीहरूमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् ।
डिआइजीहरूमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरूसँगै दुई एसएसपी पनि अवकाश पाउँदैछन् । १५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एक जना मात्र प्राविधिकतर्फका एआइजी रहने छन्।