दाङको घोराही उपमहानगरपालिकामा पानीको आपूर्ति सहज बनाउन झण्डै ८५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ।
घोराही ८ को बुधौरामा निर्माणाधीन आयोजनाको मंगलबार मेयर नरुलाल चौधरीले शिलान्यास गरेका हुन्।
धबगाड बुधौरा खानेपानी तथा सरसफाई आयोजनाले उपभोक्तालाई खानेपानीको सहज आपूर्ति उपलब्ध गराउन उक्त खानेपानी आयोजना निर्माण थालेको जानकारी दिएको छ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग र शान्ति पुनर्निमाण र विकासका लागि सहयोग फ्रि प्याडको प्राविधिक सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुन लागेको हो। ८४ लाख ७१ लाख ९ सय रुपैयाँको अनुमानित लागतमा खानेपानी आयोजना निर्माण थालिएको जानकारी दिइएको छ।
वडा नम्बर ८ का १ सय ८ घरधुरीका ९ सय १३ उपभोक्तालाई सहज खानेपानी पुर्याउने उद्धेश्य राखेर आयोजना निर्माण सुरू गरिएको छ। आयोजनाको लागि गत पुस २ गते सम्झौता भएको थियो।
२०७५ साल कात्तिक १ गते निर्माण गरी सक्ने सर्तमा निर्माणको काम सुरू भएको छ। यसका साथै त्यहाँ २० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी समेत निर्माण गरिने निर्माण समितिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिएका हुन्।
मेयर चौधरीले खानेपानी आयोजनालाई समयमै मापदण्डमा रहेर निर्माण गर्नका लागि स्थानीय उपभोक्ता चनाखो हुनुपर्ने बताए। ‘मुहानदेखि मुखसम्म’ सफा र सुरक्षित खानेपानी पुर्याउन सबै लाग्न आवश्यक रहेको चौधरीले बताए ।