बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ।
मेलम्ची खानेपानी आयोजनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजनाको अन्तिम सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको औपचारिक जानकारी गराएको हो। अन्तिम चरणको सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर सूरुङ ‘ब्रेक थ्रु’ भएको हो।
आयोजनाको सुरुङ निर्माणको काम ३ खण्डमा विभाजन गरेर सुरू गरिएको थियो। आगामी बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ कार्यक्रम आयोजना गर्न लागिएको पनि आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए।
आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धी भनेको छ । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले दशैंअघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा उपलब्ध गराउने दाबी पनि गरिन्।
उनले काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी घरघरमा पुर्याउने गरी पाइपलाइन विस्तारको कामलाई पनि तीव्रता दिइएको बताइन्।मन्त्री मगरले कार्यभार सम्हाले लगत्तै आयोजनाको स्थलगत निरीक्षण गरी दशैंअघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा आउने व्यवस्था गर्न सम्बन्धित निकायलाई सचेत गराएकी थिइन्।
कार्यक्रममा हालसम्म आयोजना निर्माणका लागि २४ अर्ब २२ करोड खर्च भएको पनि जानकारी दिइएको छ ।
https://www.youtube.com/watch?v=eMFx-DSMwjs&feature=youtu.be