देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सोलार ऊर्जाबाट उत्पादित बिजुलीको प्रयोग सुरू भएको छ।
चीन सरकारको सहयोगमा सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालयका छानामा सोलार प्यानल राखेर एक मेगावाट क्षमताको बिजुली उत्पादन गरिएको हो।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा सौर्य ऊर्जाको शुभारम्भ गरे। नवीकरणीय ऊर्जा उत्पादनमा सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद दिए।
‘सोलारबाट बिजुली उत्पादन गर्न सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिन चाहन्छु। यो अन्त्य होइन सुरुवात हो’ प्रधानमन्त्री ओलीले भने। आगामी दिनमा पनि चीन सरकारको यस्तै खालका सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री ओलीले बताए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा संस्थान गरी २१ वटा भवनको छानामा सोलार प्यानल राखेर सौर्य ऊर्जा उत्पादन गरेको हो। राजनीतिक मुद्दा हल हुँदै गएको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक सम्वृद्धि हासिल गर्नु अबको लक्ष्य रहेको बताए।
‘विदेशिएका युवालाई स्वदेशमै आकर्षक रोजगारी दिने हो। जागिर खोज्दै विदेशमा नेपाली युवा भौतारिने दिन गए’ प्रम ओलीले भने, ‘नवीकरणीय ऊर्जा तथा जलविद्युत् निर्माणमा स्वदेशी र विदेशी लगानी परिचालन गछौं।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छानामा जडान गरिएको सोलार प्यानलको पनि प्रम ओलीले अवलोकन गरेका छन्।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यु होङले सौर्य ऊर्जा र जलविद्युत् आयोजना निर्माणमा चीन सरकारले नेपालमा लगानी गर्दै आइरहेको जानकारी दिइन्।
‘नेपालमा ऊर्जा क्षेत्रमा काम गर्न चीन सरकार सहयोगी बन्छ। जलविद्युत् तथा विद्युत् प्रशारण लाइन विस्तारमा चीनले सहयोग गर्दै आइरहेकै छ’ राजदूत होङले भनिन्।
सिंहदरबार सोलार प्रोजेक्ट तोकिएको समयमै चीन सरकारले पूरा गरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए।
कार्यक्रममा ऊर्जा मन्त्री वर्षमान पुन, मुख्य सचिव लोकदर्शन रेग्मी उपस्थित रहेका थिए। मन्त्रालयमा सौर्य ऊर्जा प्रयोग सुरु भएपछि बिजुली खपत कम हुने भएको छ।
सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो ।
करीब ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ।
https://www.youtube.com/watch?v=YnKEGAw9gOo&feature=youtu.be