१५ वर्षदेखि शरीरमा गोलीका छर्रा लिएर हिँड्न बाध्य पाँचथरको हिलिहाङ गाँउपालिका–७ की अनुपा राईको टाउकोमा रहेका गोलीका छर्रा निकालिएको छ।
ठूलो धनराशी खर्च लाग्ने तथा विशेषज्ञ चिकित्सकहरूबाट मात्रै शल्यक्रिया हुने भएका कारण उपचार गराउन नसकेर शारीरिक पीडा भोग्दै आएकी अनुपाको झापास्थित विएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले निःशुल्क उपचार गरिदिएको हो।
शरीरका विभिन्न भागमा गोलीका छर्रा भएपछि शरीर पोल्ने, देब्रे पाटो निदाएझैँ हुने, झमझमाउने लगायत समस्या भोगिरहेकी अनुपालाई मस्तिष्कसँगै रहेको गोलीको छर्राले असर गरिरहेको चिकित्सकहरूले निश्कर्ष निकालेका थिए। उनको सफल शल्यक्रिया गरी मस्तिष्कसँगै रहेको एउटा र घाँटीमा रहेको एउटा छर्रा निकालिएको विएण्डसी अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
अस्पतालका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको चिकित्सकहरूको टोलीले साढे पाँच घण्टा लगाएर छर्रा निकालेको हो। टाउकोमा रहेको ५ दशमलव ५ एमएमको छर्रा निकालिएको न्यूरो सर्जन डा. नेपालले बताए। डा. नेपालले अनुपाको टाउकोमा रहेको छर्रा रहेको स्थान पत्ता लगाउन जटिल रहेको बताए।
शल्यक्रियाअघि सिटी स्क्यान गरेर छर्रा रहेको स्थान पत्ता लगाइएको डा. नेपालले जानकारी दिए। अझै पनि अनुपाको शरीरमा ३ वटा छर्रा रहेका छन्। यद्यपी यी छर्राहरूले अनुपालाई शारीरिक रूपमा असर नगरेको चिकित्सकहरूले बताएका छन्।
२०५९ साल वैशाख २४ गते तत्कालीन विद्रोही माओवादीले संखुवासभाको चैनपुरमा सेना क्याम्पमा माओवादीको आक्रमण सफल नभएपछि भाग्ने क्रममा माओवादी जनमुक्ति सेना अनुपालाई गोली र छर्रा लागेको थियो। भाग्ने क्रममा माओवादी लडाकुहरूले उनी मरिसकेको निश्कर्ष निकालेर खोल्सीमा फालिदिएका थिए। उनको ४ दिनपछि होश खुलेको थियो।
२१ दिनपछि उनी माओवादीको सम्पर्कमा पुगेकी थिइन्। ओखलढुङ्गाको कुहिभीरमा २०४२ सालमा जन्मिएकी अनुपा राई १४ वर्षकै उमेरमा माओवादीमा लागेकी थिइन्। उनी शरीरका विभिन्न भागमा छर्रा र गोली बोकेर पनि उनले दुई वटा युद्धका मोर्चामा लडेकी थिइन्। पछि उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि सेनाबाट उनी पार्टी राजनीतिमा आइन्।
यही क्रममा पाँचथर आइपुगिन् अनुपा। हिलिहाङ–७ साविक सुभाङ २ का मनकुमार राईसँग पार्टीमै विवाह गरेर बसेकी अनुपा विभिन्न अस्पताल धाउँदा पनि उपचार हुन सकेको थिएन। पछिल्लो पटक आफ्नो समस्या जटिल बनेको भन्दै उनले पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेकी थिइन्।
उपचार गराउने खर्चको अभावमा छटपटाएकी अनुपाको अवस्थाबारे समाचारबाट जानकारी पाएर झापास्थित विएण्डसी अस्पतालले निःशुल्क उपचार गरिदिएको हो।
विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफूहरूले मानवताको नाताले उपचार गरिदिएको बताए। निःशुल्क उपचार पाएपछि अनुपाले अस्पताललाई धन्यवाद दिइन्।
उनले आफूले धेरै ठाँउ धाउँदा पनि उपचार नपाएको तर, विएण्डसीले निःशुल्क उपचार गरिदिँदा आफूलाई सबैभन्दा बढी खुसी लागेको बताइन् ।