दाङको तुलसीपुरमा गोली लागेको अवस्थामा घाइते बाघ फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को अश्वारको महालक्ष्मी सामुदायिक वनमा टाउकोमा गोली लागेको अवस्थामा घाइते बाघ फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
मंगलबार बिहान स्थानीयले घाइते बाघ जंगलमा देखेपछि प्रहरीलाई खबर गरेको हुँदा आफूले प्रहरी सहायक निरीक्षक हिमबहादुर रावतको नेतृत्वमा प्रहरी टोली खटाएको सापकोटाले जानकारी दिए।
रावतले बाघको कञ्चटमा दाहिने साइडबाट गोली लागेको र गोली छेडेर अर्को साइडबाट निस्किएको जस्तो अवस्थामा घाइते बाघ फेला परेको सेतोपाटीलाई जानकारी दिए ।
बाघको एउटा आँखा गोलीले उडाएको अवस्थामा रहेको र आफूहरूले वनका कर्मचारीलाई खबर गरेको रावतले जानकारी दिए।
घाइते बाघ हिड्न सक्ने अवस्थामा रहेको र यो खबर तयार पार्दै गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित हेमबहादुर चन्दको गोठमा प्रवेश गरेको प्रहरी सहायक निरीक्षक रावलते जानकारी दिए।
‘वनका कर्मचारी आउँदै हुनुहुन्छ, तर बाघको अवस्था अन्तिम जस्तो छ, सायद बाँच्दैन होला,’ प्रहरी सहायक निरीक्षक रावतले फोनमा भने।
उनले अवैध रूपमा शिकार गर्ने व्यक्तिले बाघलाई गोली हानेको हुनसक्ने बताए।