तस्करीको ३३ किलो सुन गायब बनाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धान गर्न बनेको समितिले १२ जनालाई पक्राउ गरेको छ।
तस्करीको सुन भरिया समन शाक्य लगायतका भरियाले मिलेर गायब बनाएको भन्दै मोरङको उर्लाबारी–७ का सनम शाक्यलाई फागुन १८ गते करेण्ट लगाएर हत्या गरिएको थियो।
हत्याको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वमा समिति गठन गरिएको थियो।
सुन तस्करहरूले सनम शाक्यलाई जंगलमा यातना दिएर हत्या गरेको समितिको अनुसन्धानबाट देखिएको छ।
स्रोतका अनुसार गायब भएको सुन ओकलाउन शाक्यलाई यातना दिने क्रममा उनको मृत्यु भएपछि घटनाबाट बच्नका लागि तस्करले नै प्रहरीलाई खबर गरेका थिए।
तस्करको खबरपछि महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसीको कमाण्डमा एक टोली पूर्व पुगेको थियो।
उक्त टोलीले शाक्यसँगै यातना पाएका उर्लाबारीका–७ का नरेन्द्र कार्की मोहन काफ्ले र सवारी चालक चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर हत्या उनीहरूले नै गरेको घटना विवरण सार्वजानिक गरेको थियो।
त्यसको केही दिनपछि प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि गृहले समितिनै बनाएर छानबिन थालेको थियो।
घटनामा प्रहरीको केही संलग्नता र लापरवाही देखिएको भन्दै समितिकै सिफारिसमा प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संज्याललाई तानिएको छ।
‘महाशाखाका केही अधिकारीसँग सुन तस्करको राम्रो कुरा भएको देखियो’, अनुसन्धान समितिका एक अधिकारीले सेतोपाटीसँग भने,‘महाशाखाका केही अधिकारी र तस्करीको सुन भित्र्याउने र हराएपछि हत्यासम्म गर्नेहरूको सम्बन्ध छ, हामी अनुसन्धान गर्दै र्छौं।’
स्रोतका अनुसार समितिले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ।
विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि विराटनगर लगिएको छ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान रहेका छन्।
चुडामणि उप्रेती ‘गोरे’ले उक्त सुन फागुन पहिलो साता नेपाल भित्र्याएका थिए। तर उक्त सुन भरियाले बीच बाटोबाटै गायब बनाएका थिए।
हाल फरार गोरेले हराएको सुन खोज्न भन्दै महानगरीय अपराध महाशाखाका केही अधिकारीसँग सहयोग मागेपछि उनैको सल्लाहले शाक्यलाई ओकलाउन गौरीघाटबाट सिराहको जंगलमा लगिएको स्रोतले बतायो।
सनम हत्यापछि फरार गोरे यसअघि पनि सुनकाण्डमा मुछिएका थिए। तर माथिल्लो सेटिङ मिलाएरै गोरेले त्यसबेला उन्मुक्ति पाएका थिए।
एक वर्षअघि ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन काण्डमा पनि गोरेकै संलग्नता रहेको प्रहरीले दाबी गरेको छ। तर, उनले ब्यूरोका तत्कालीन उच्च अधिकारीसँग मिलेर आफ्नो नाम हटाउन लगाएका थिए।