राष्ट्रिय विद्युत सुरक्षा दिवसको अवसरमा सोमबार तुलसीपुरमा विद्युत प्रयोगबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ।
दिवसका अवसरमा दाङमा रहेका विभिन्न प्राविधिक शिक्षालयका विद्यार्थीसहितको र्याली बजार परिक्रमापछि तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरणको शाखामा पुगेर समापन भएको थियो।
र्यालीमा सहभागीहरूले विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, एलइडी बल्बको प्रयोग गरौं, विद्युत चोरी गर्नेलाई समाजिक बहिस्कार गरौं, विद्युत सम्बन्धी सुरक्षामा ध्यान दिऊ, रुखको हाँगोले विद्यतु संरचना छुन नदिऊ, सुरक्षाप्रतिको चासो दुर्घटनाबाट बच्ने साँचो, भिजेको हातले विद्युतीय उपकरण नचलाऔंं, के तपाईं घरबाट निस्कने बेला बत्ती निभाउनु भयो? जस्ता प्लेकार्ड बोकेका थिए ।
नेपालमा विद्युत सुरक्षा दिवस मनाउन थालिएको यो दोस्रो वर्ष हो।
प्राधिकरणको तुलसीपुर वितरण केन्द्रका प्रमुख दीपकजंग चौधरीले फागुन मसान्तसम्म तुलसीपुर क्षेत्रमा ३३ हजार विद्युतका उपभोक्ता रहेको र संख्या थपिने क्रम तीव्र रहेको बताए। विद्युत चोरी नियन्त्रण र विद्युतको सही सदुपयोग आजको चुनौती बनेको भन्दै उनले सबैले विद्युत प्रयोगपछि अनावश्यक समयमा त्यो बन्द गरेमा मात्रै पनि विद्युत डिमको समस्या केही हदसम्म समाधान हुने प्रमुख चौधरीले बताए। चालू आर्थिक वर्षमा मात्रै तुलसीपुर शाखामा बिग्रिएको विद्युतीय सामग्री मर्मत गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो ।