भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान भक्तपुरमा विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ।
बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा र्याली निकालिएको छ। र्यालीले तौमढीबाट सुरू भई नगरको विभिन्न भागको परिक्रमा गरेको थियो।
स्थानीय बासिन्दा, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, स्थानीय विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी, स्काउट सुरक्षाकर्मीका तीनवटै निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधि र्यालीमा सहभागी थिए।
तौमढीमै आएको समापन भएको शान्ति र्यालीपछि सम्बोधन गर्दै प्रजिअ पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रूपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए।
उनले यसवर्ष जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिएको, जात्रामा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाउने, मदिरा विक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने बताए।
त्यसैगरी, भोलिबाट सुरू हुने बिस्केट जात्राको सम्पूर्ण तयारी पुरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। उनले जात्राको आवश्यक सबै तयारी पुरा गरेको बताउँदै जात्रा १ बजेबाटै सञ्चालन गर्ने तयारी गरिएको बताए।रासस