टेलिफोन नभएका दुर्गम क्षेत्रका प्रहरी कार्यालयमा सोमबारदेखि भिस्याट फोन मार्फत् प्रहरीले सञ्चार सेवा सुरू गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबारदेखि वेरी स्माल अपर्चर टर्मिनल टेलिफोन सेवाको(भिस्याटको) सुरूवात गर्दैछ।
टेलिफोन सेवा नपुगेका विभिन्न जिल्लाका ८ वटा स्थानमा सोमबारदेखि उक्त सेवा सुरू गर्न लागेको नेपाल प्रहरीको सञ्चार सेवा निर्देशनालयका प्रमुख डिआइजी राजिव सुब्बाले जानकारी दिए।
उनका अनुसार ताप्लेजुङको ओलाङचुङ गोलामा रहेको ईलाका प्रहरी कार्यालय, काभ्रेको फोक्सीगंटामा रहेकोे प्रहरी चौकी, मुस्ताङको लुमानथाङ, सुरखाङं,रुकुमको रम्मामाईकोट, जुम्लाको राराही, डोल्पाको सहरतारा र बजाङको धुली प्रहरी चोकीमा उक्त सेवा विस्तार गरिएको हो।
दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रहरी प्रधान कार्यालयले सञ्चार सेवा नभएका प्रहरी चौकीमा उक्त सेवा विस्तार गरेको डिआइजी सुब्बाले जनाए।
दूरसञ्चार प्राधिकरणको १९ लाख ९१ हजार र नेपाल प्रहरीको ४ लाख ६५ हजार, गरी २४ लाख ५६ हजारको लागतमा उक्त टेलिफोन जडान गरिएको हो।
सो प्रहरी कार्यालयहरूले कुनै सूचना दिन घण्टौंसम्म पैदल हिड्नु परेको थियो।
अब यो सेवा विस्तारपछि टेलिफोनसँगै प्रहरी चौकीले सोही स्थानबाट सिधै प्रहरी प्रधान कार्यालयमा रहेको सञ्चार निर्देशनालयमा सम्पर्क गर्न सक्नेछन्।