ललितपुर महानगरपालिकाभित्र रहेका ठूला करदाता सम्पर्कमा आउन थालेका छन्।
महानगरपालिकाले अनुगमन सुरू गरेपछि करदाता सम्पर्कमा आउन थालेको आर्थिक समिति संयोजक रवीन्द्र महर्जनले बताए।
‘स्थानीय सरकार आएपछि चुस्त रूपमा अनुगमन थाल्यो। त्यसैले ठूला करदाता सम्पर्कमा आउन थालेका हुन्,’ महर्जनले भने, ‘यो आर्थिक वर्षमा कर बुझाउन आउनेलाई छुटको पनि व्यवस्था गर्यौं। यसले करदातालाई थप लोभ्याएको छ।’
लबिम मल, भाटभटेनी, जेम्स स्कुल, आदर्श विद्या मन्दिर, लिटल एन्जल्स स्कुललगायत ठूला करदाताले महानगरको सम्पर्क आएका हुन्। उनीहरूले कर तिर्न फारम लिने, नक्सा बनाउनेजस्ता काम गरिरहेको राजश्व शाखा प्रमुख डिल्ली शाक्यले बताए।
काठमाडौं कलेज अफ म्यानेजमेन्ट, अल्का अस्पताल, धापाखेलको सुमेरू, इमाडोलको किस्ट अस्पताल लगायतले पनि कर तिरेका छैनन्।
आर्थिक वर्ष ७४/७५ मा महानगरले मालपोत, घरजग्गा, व्यवसाय करमा १० प्रतिशत छुट, बाँकी वक्यौताअनुसार लाग्ने सम्पूर्ण कर मिनाहा गर्ने र मालपोत, घरजग्गा, व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि १० प्रतिशत छुटको व्यवस्था गरेको छ।
अनुगमन टोलीका अनुसार महानगरपालिकामा लगभग १ लाख घरधुरी छन्। अधिकांश घर बहालमा लगाइएको छन्। महानगरमा घर बहाल कर लिने प्रकृया पनि सुरू भएको छ।
करदाता सम्पर्कमा आउन थाले पनि अनुगमन भने जारी रहने महानगरले जनाएको छ।
‘ठूला करतादा सम्पर्कमा आउन थाले पनि हामी अनुगमन जारी राख्छौं,’ संयोजक महर्जनले भने, ‘हाम्रो मुख्य आम्दानीको स्रोत पनि राजश्व संकलन नै हो। त्यसैले यसलाई वडा स्तरीय बनाएर अनुगमन गर्ने योजनामा छौं।’
ललितपुर महानगरपालिकाले माघ अन्तिम सातादेखि लबिम मलबाट अनुगमन सुरू गरेको थियो। चैत महिनादेखि रोकिएको अनुगमन मंगलबारदेखि फेरी सुरु गर्ने भएको छ।