मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रूपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन सुरू गरिएको छ।
नगरपालिकाले वडा नम्बर ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ। सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरू गरिएको नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिए। नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन सुरू गरेका छन्।
यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोहीअनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले बताए।रासस