बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ।
बिहान ४ बजेदेखि लागेको आगो ८ बजेपछि मात्र नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको भाटभटेनी सपुरमार्केटको पाँचौं तल्लाबाट आगोलागी सुरू भएको हो।
आगलागीबाट इलोक्ट्रोनिक्स सामानहरू राखिएको सुपरमार्केटको पाँचौं तल्लामा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। अरु तल्लामा भने क्षति नभएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।
आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण भने एकिन हुन नसकेको उनले सेतोपाटीलाई जानकारी दिए ।
बिहान चार बजेदेखि आगलागी भए पनि रुपन्देहीमा दुईवटा मात्र दमकल भएका कारण आगो नियन्त्रणमा समस्या भएको थियो। तत्काल बुटवल र भैरहवाबाट आएका दुईवटा दमकलले मात्र आगो नियन्त्रण गर्न नसकेपछि नवलपरासीको रामग्राम, कपिलवस्तु र पाल्पाबाट समेत दमकल बोलाइएको थियो।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले प्रहरी कन्ट्रोल रुममा आगलागीको सूचना प्राप्त हुने बित्तिकै रुपन्देही र बाहिरी जिल्लाबाट समेत दमकल मगाएर आगो नियन्त्रणमा लिइएको जानकारी दिए।
पाँचवटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा ल्याएका हुन्।
सुपरमार्केट वरिपरी घरहरू नभएको र पाँचौं तल्लामा आगलागी भएका कारण अग्नि नियन्त्रकलाई पानी हाल्न पनि कठिनाइ भएको थियो।
सुपरमार्केट बन्द भएको समयमा आगोलागी भएका कारण मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
सुपरमार्केट बुटवलमा गत वर्ष बैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो।
यसैबीच प्रदेश नमबर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पनि आगलागी भएको स्थलको अवलोकन गरेका छन् ।
जिल्लामा सातवटा दमकल रहे पनि दुईवटा मात्र सञ्चालनमाहरेक वर्ष आगलागीका घटना दोहोरिने गरे पनि रुपन्देहीमा राम्रो र स्तरीय दमकल नहुँदा ठूलो क्षति हुने गरेको छ। रुपन्देही जिल्लामा सातवटा दमकल छन् तर चालू अवस्थामा दुईवटा मात्र रहेका छन्।
बुटवल उपमहानगरपालिकासँग तीन, सिद्धार्थनगर नगरपालिकामा तीन र लुम्बिनी सांस्कृतिक नगरपालिकामा एकवटा दमकल छन्। तर, बुटवल र सिद्धार्थनगरको एकएक वटा दमकल मात्र चालू अवस्थामा छन्।
बुटवल उपमहानगरपालिकालाई विभिन्न दाताले दिएका तीनवटा दमकलमध्ये दुईवटा उपमहानगरपालिका परिसरमै थन्किएका छन् भने एउटा मात्र चालू अवस्थामा छ।
दाताले उपलब्ध गराएको जापनिज कम्पनीको दमकलमा पानी भर्ने ट्यांकी समेत छैन। ट्यांकी नभएका कारण पानीको श्रोत भएको स्थानमा पम्पसेटको रूपमा मात्र काम गर्ने उपमहागरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिए।
उता सिद्धार्थनगर नगरपालिकामा पनि तीनवटा दमकल रहे पनि चालू अवस्थामा एउटा मात्र छ। सञ्चालनमा रहेको दमकल समेत २० वर्ष पुरानो भएकोले बेलाबेलामा बिग्रिएर बाटोमै अलपत्र पर्ने गरेको छ।
दिन प्रतिदिन बस्ती विकास भइरहने र विद्युतिय सामग्रीको प्रयोगका कारण आगलागीका घटना बढ्दै गए पनि दमकलको संख्या भने घट्दै गएका छन्।
उपमहानगर र नगरपालिकाकाभित्रै आगलागी भए पनि समयमा दमकल पुग्न सक्दैनन्। सामान्य आगलागीलाई समेत नियन्त्रण गर्न नसक्ने क्षमताका दमकलमा दोश्रो पटक पानी भरेर लैजान समेत घण्टौं लाग्ने गरेको छ।
नयाँ नगरपालिका र गाउँपालिकाले अझै दमकल खरिद गर्ने बजेट विनियोजन गर्न सकेका छैनन् । आफूहरूलाई आवश्यक पर्ने गाडीहरू तत्कालै खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले दमकल खरिदमा कुनै चासो दिएको देखिँदैन।
सिद्धार्थनगरका वारुण यन्त्र इञ्चार्ज उमानन्द भण्डारीले चालू अवस्थामा रहेको एउटा दमकल पनि असार मसान्तमा २० वर्ष पुग्ने बताए।
सरकारले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा बन्देज लगाएको छ। तर जिल्लामा तिनै २० वर्ष पुराना दमकलका भरमा आगो नियन्त्रण गर्नुपर्ने बाध्यता छ।
सामान्य घर गोठ, परालको टौवा लगायतमा आगलागी हुँदा बुटवल र भैरहवामा रहेको दमकलले नियन्त्रण गरे पनि ठूला आगलागीका घटनामा भने नवलपरासी, कपिलवस्तु र पाल्पाबाट समेत दमकल बोलाउनुपर्ने अवस्था छ।
बाहिरी जिल्लाबाट दमकल बोलाउँदा बाटोमै घण्टौं लाग्ने गरेका कारण ठूलो जनधनको क्षति हुने गरेको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले अहिले रहेका दमकलले साना र होंचा घरमा लागेको आगो नियन्त्रण गर्न सकेपनि अग्ला घरमा लागेको आगो नियन्त्रणमा समस्या देखिएको बताए।
‘२० वर्ष पहिलेका दमकल पुराना संरचना अनुसार खरिद गरिएका हुन् पछिल्लो समय निर्माण भएका ५/६ तल्ला अग्ला घरको लागि हाइड्रोलिकसहितका दमकल आवश्यक देखिएको छ’, उनले सेतोपाटीलाई भने।
सुवेदीले रुपन्देहीका सबै स्थानीय तह मिलेर सामूहिक रूपमा बारुण यन्त्रशाला र एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।
‘एउटा स्थानीय तहले मात्र धेरै दमकल खरिद गर्न नसक्ने भएकोले रुपन्देहीका १६ वटै स्थानीय तह मिलेर सामूहिक रूपमा बारुणयन्त्र सञ्चालनको लागि छलफल समेत अगाडि बढाएका छौं’, उनले भने ।