‘मलाई सगरमाथाको आधार शिविरसम्म पुर्याउन बाबा जाँदै हुनुहुन्छ’ पेसाले फोटो पत्रकार पूर्णिमा श्रेष्ठले शुक्रबार ५५ दिनको सगरमाथा यात्रा सुरू गर्दा भनिन्, ‘मेरो बाबा आधार शिविर जान सक्नु होला? त्यहाँ पुग्नुभयो भने म पनि सगरमाथा चढ्छु भन्न बेर छैन।’
५६ वर्षिय चन्द्रबहादुरका दुई सन्तानमध्ये छोरा विदेश र छोरी पूर्णिमा सगरमाथाको यात्रामा छिन्। घरमा श्रीमतीलाई छाडेर चन्द्रबहादुर छोरीको साथी बनेर सगरमाथाको आधार शिविर गएका छन्।
‘सगरमाथा आरोही सन्ततीलाई पुर्याउन कसैको बाबा आधार शिविर गएको छैन होला। म भाग्यमानी रहेछु, मलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म बाबाकै साथ हुन्छ। आधार शिविरमा सगरमाथालाई साक्षी राखेर बाबासँग फोटो खिच्छु’ पूर्णिमाले भनिन्।
पूर्णिमा यी लक्ष्य राखेर सगरमाथा यात्रामा निस्केकी छन्।
पहिलो, सगरमाथाको फोटो खिच्दै–खिच्दै चुचुरोमा पुग्ने।
दोस्रो, सगरमाथाको चुचुरोमा आमाको फोटो प्रदर्शन गर्ने र बालबच्चादेखि वृद्धवृद्धासम्मका मुस्कानका २५ वटा फोटो सगरमाथाको विभिन्न ठाउँमा प्रदर्शन गर्ने र पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध अभियान चलाउने, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने।
पूर्णिमालाई सगरमाथा चढ्ने जोस वर्ष दिन पहिले फोटो खिच्न सगरमाथाको आधार शिविर पुगेका बेला चलेको हो। छ हजार मिटर अग्ला हिमाल चढेपछि सगरमाथा चढ्न सजिलो हुने थाहा पाएपछि उनले २६ सेप्टेम्बर २०१७ मा मनास्लुको सफल आरोहण गरिन्।
‘हाइ अल्टिच्युट, हिउँ र हिमाल देखेको वर्ष दिनमै किलर माउण्टेन भनिने मनास्लु हिमालको आरोहण गरेँ’ विगत सम्झँदै पूर्णिमाले भनिन्, ‘सगरमाथा चढ्न मनास्लु चढेँ।’
प्रकृतिसँग रम्न चाहने आफूलाई हिमाल चढ्दाका फोटो खिच्न पाउनु नै मन परेको काम हुने उनले बताएकी छन्।
‘आधार शिविरमा पुगेर फर्केपछि सगरमाथा चढ्नु पर्छ, घुम्न जानुपर्छ भनेर हुँदैन। सगरमाथा नै चढेर भन्न सक्नुपर्छ कि विश्वका सुन्दर ठाउँमध्ये सगरमाथा एक गन्तव्य हो’ उनले भनिन्।
१२ लाख खर्च गरी मनास्लु चढेकी उनलाई चार लाख ऋण लागेको छ।
‘मनास्लु चढेको ऋण चुक्ता गर्न सकेको छैन। फेरि सगरमाथाको लागि पैसा जुटाउन हिँडेको देखेर स्पोन्सरहरट्ठले पनि जिन्दगी नै हिमालमा बिताउने हो कि क्या हो भने’ उनले भनिन्, ‘सपना पूरा गर्न ऋण गरेर पनि सगरमाथा चढ्छु। ऋण तिर्न विदेशिनु नपरोस् भन्ने छ।’
सगरमाथा आरोहण गरिसकेर फर्केपछि आफूसंग हुने फोटो, भिडियो र अनुभवले सगरमाथा क्षेत्रको प्रवर्द्धनका क्षेत्रमा काम गर्ने पूर्णिमाको योजना छ।
‘म केही थिम लिएर सगरमाथा चढ्न गएको हुँ, सगरमाथा चढ्नका लागि मात्रै गएको होइन’ उनले भनिन्।
पाँच वर्षे पत्रकारिता जीवनमा क्यामेरामा कैद गरेका प्रकृतिप्रेमी र जनजीविकाको २५ वटा फोटो सगरमाथामा प्रदर्शन गर्ने उनले बताइन्।
‘फोटो पत्रकारको सम्पत्ति भनेकै फोटो हो। ३१ वटा फोटो धुलाउन दिएको छु, २५ फोटो सगरमाथामा प्रदर्शनमा राख्छु’ उनले योजना सुनाइन्। सगरमाथामा पहिलो पटक आफूले फोटो प्रदर्शनी गर्न लागेको बताइन्। आरोहीहरू नै उनले राखेका फोटोका अवलोकनकर्ता रहनेछन्।
‘मुस्कानका फोटो हेर्दै सगरमाथा चढ्न आरोहीलाई बडो आनन्द आउने छ’ उनले भनिन्। लेमिनेसन गरेका फोटो आधार शिविरदेखि चुचुरोसम्म झुण्डाउने उनले बताइन्।
उनले प्रदर्शनमा राख्ने फोटोमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध नारा लेखिएका छन्। करुणा फाउण्डेशनसँगको सहकार्यमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध सचेतना अभियान चलाइने छ। सगरमाथाबारे किताबमा पढ्ने होइन, घुम्न नै जानु पर्ने उनी बताउँछिन्।
सगरमाथा चढ्ने खर्च २५ लाख जुटाउन उनलाई सगरमाथा नै चढेजस्तो असिनपसिन भयो। ‘सगरमाथा यात्रा मेरा लागि दुइटा सगरमाथाजस्तो भयो। सगरमाथा चढ्नु छँदैछ अर्को पैसा जुटाउनु अर्को सगरमाथाजस्तै भो’ पूर्णिमाले दुखेसो गरिन्।
आरुघाट पुगेकी पूर्णिमाले गाउँलेसँग नयाँ जुक्ति लगाएर केही पैसा संकलन गरिन्। आरुघाट गाउँपालिकाले एक लाख सहयोग दियो। ‘म धुमधामले बिहे गर्दिनँ, पहिले सगरमाथासँग बिहे गर्छु खर्च दिनुहोस् भनेँ। गाउँलेहरुले पैसासँग आर्शिबाद पनि दिए’ पूर्णिमाले भनिन्।