भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको पर्यटक बसबाट मंगलबार प्रहरीले ३० लाखभन्दा बढीको भन्सार छला लत्ताकपडा र रक्तचन्दनले बनेका ११ किलो भाँडा बरामद गर्यो।
एक दिनअघि दिल्लीबाट ४ जना यात्रु बोकेर काठमाडौं आएको बसमा भन्सार छलीको सामान ल्याएको सूचना पाएको प्रहरीले बाटो ढुकेर बसेको थियो। बस जब कालीमाटीमा पुग्यो प्रहरी टोलीले उक्त बसलाई नियन्त्रणमा लिएर सिधै महानगरीय प्रहरी परिसर टेकुमा ल्यायो।
बसका विभिन्न भागमा फल्स बटम बनाएर मंहगा कुर्ता सुरुवाल, बिजुलीको तार र ११ किलो बराबरका रक्तचन्दनका भाँडा लुकाएको अवस्थामा प्रहरीले फेला पार्यो।
प्रहरीको हिसाबमा ती लत्ताकपडा ३० लाखभन्दा बढी मूल्यका थिए। तर त्यसको बिल थिएन।
बसका चालक झिल्के पुन र सहचालक सुमन पुनलाई प्रहरीले नियन्त्रणमा लियो। उनीहरूको बयानअनुसार बस यात्रुको साटो सामान ओसार्न दिल्ली जान्थ्यो।
बसका मालिक फरार छन्।
'हामीले चालक र सहचालकलाई सोध्यौं,' काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सेतोपाटीसँग भने, 'मैले २ पटक यसरी सामान ल्याएको हुँ, अन्य बेला पनि यसरी नै आउँथ्यो भन्ने सुनेको थिएँ, बाँकी कुरा मलाई थाहा भएन भने।'
भोलिपल्टफेरि त्यस्तै पर्यटक बस पनि फेला पर्यो। जसमा यात्रुभन्दा बढी तस्करीको सामान थियो। दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ६३०२ बसलाई प्रहरीले नागढुङ्गाबाट नियन्त्रणमा लियो।
बसका चालक बारा निजगढ नगरपालिका–३ का ३४ वर्षीय रामबहादुर थोकरलाई प्रहरीले नियत्रणमा लियो। बसका विभिन्न भाग खोलेर हेर्दा पत्ता लाग्यो बस यात्रु बोक्न भन्दा पनि भन्सार छलीका सामान बोक्न चलाइएको रहेछ।
प्रहरीले उक्त बसबाट अघिल्लो दिनभन्दा बढी त्यस्तै प्रकारका मंहगा लत्ताकपडा फेला पार्यो।
छत, अघि पछि,र बसको मुनि पट्टी फल्स बटम बनाएर सामान भरिएको अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रहरीले यस्तै गरी विभिन्न समयमा मोबाइल, ल्यापटप तथा विभिन्न भन्सार छलीका सामान बरामद गरेको थियो।
२०७१ मंसिरदेखि सुरु भएको काठमाडौं–दिल्ली पर्यटक बसमा पटकपटक अवैध यस्ता सामान भेटिएका छन्।
'प्रहरीले नियन्त्रणमा लिएका २ बसको बनावटनै सामान बोक्नकै लागि बनाइएको देखिन्छ,' एसएसपी विश्वराज पोखरेलले भने, 'सूचनाबिना यस्ता सामान भेटिन मुस्किछ छ, बाहिरबाट हेर्दा पर्यटक बस देखिन्छन्, दाँयाबाँया केही देखिदैँन खोलेर हेर्दा जताततै सामानका पोकामात्र भेटिन्छन्।'
एसएसपी पोखरेलले दिल्ली काठमाडौं चल्ने बस कति छन् भन्ने विवरण मागेर सबै बसमा निगरानी बढाउने बताए।
उनकाअनुसार सामान बोक्नका अधिकांश बसका मालिक आफैं जाने गर्छन्, काठमाडौं पुग्ने बेला चालकको हातमा चाबी थमाएर उनीहरू अन्यत्रै लाग्ने गर्छन्।
नियन्त्रणमा लिएका दुबै बसका धनीको खोजी भइरहेको छ। नियन्त्रणमा लिएको बस र बरामद सामान आन्तरिक राजश्व कार्यालयमा पठाइनेसमेत पोखरेलले बताए।