बुद्ध जन्मस्थल लुम्बिनीमा ६ वटा सुरक्षा दस्तालाई चुनौती दिँदै मायाँदेवी मन्दिर परिसर भित्रै मानिसको अस्तु फेला परेको छ।
मायादेवी मन्दिर परिसर भित्र खाल्डो खनी गाडेको अवस्थामा कपाल र बंगारा फेला परेको हो।
मानव अस्तु जस्तै देखिने ३२ थान ठूलो पोका, एक सय ८७ थान सानो पोका, कपालको जगल्टाको १४ पोकासहित एक मानव बंगारा फेला पारेको हो।
यस घटनाले लुम्बिनी विकास कोष र सुरक्षा निकायको चरम लापरवाहीले लुम्बिनीमा गम्भीर सुरक्षा चुनौती उब्जिएको छ।
लुम्बिनी विकास कोषका अधिकृत चुरामणि भट्टराईले चैत १२ गते साँझ ५ बजेदेखि ६ बजेको समयमा मायाँदेवी मन्दिर परिसरमा खाडल खनेर गाडेको बताए।
उक्त समयमा ४०/५० जनाको ताईवानी भिक्षुहरू आएको उनले सेतोपाटीलाई जानकारी दिए।
खाडल खनिएको स्थानमा बिहीबार खनेर हेर्दा केही पोकाहरूमा बालुवा, सिक्का, पत्थर तथा बंगारासमेत भेटिएकोले कुनै दिवंगत व्यक्तिको अस्तुधातु हुनसक्ने अनुमान गरिएको भट्टराईले बताए।
विभिन्न सुरक्षा निकायका गरी साढे तीन सयभन्दा बढी सुरक्षाकर्मीको घेरा तोड्दै लुम्बिनीको सबैभन्दा महत्वपूर्ण स्थानको रूपमा रहेको मायादेवी मन्दिर परिसरमै यस्तो घटना हुनुले लुम्बिनीको सुरक्षामाथि प्रश्न चिन्ह उब्जिएको छ।
लुम्बिनीको सुरक्षाका लागि १ सय ९७ जना सशस्त्र प्रहरी, ३३ जना दंगा प्रहरी, ७३ जना लुम्बिनी बिकास कोषका सुरक्षा गार्ड, ग्रुप फोरका १५ जना तथा ६ जना पर्यटन प्रहरी तैनाथ छन्।
तर यी सबै सुरक्षालाई छल्दै मायाँदेवी मन्दिर परिसरमा खाडल खनेर मानव अस्तु गाडिँदासमेत लुम्बिनी विकास कोष बेखबर बन्नु रहस्यमय बनेको छ।
अधिकृत भट्टराईले १२ गते अस्तु गाडिएपछि दुई चार दिनमै थाहा पाए पनि लुम्बिनीमा चलेको चैते पूर्णिमा मेलालाई प्रभाव पार्ने भएकोले बिहीबार मात्रै खाडल खनेर हेरिएको बताए।
[caption id="attachment_147468" align="alignnone" width="1200"]
DCIM102MEDIA[/caption]
‘अस्तु गाडिएको भन्ने केही दिन पहिले नै थाहा पाएका थियौं तर यति धेरै पोका छन् भन्ने लागेको थिएन,’ उनले सेतोपाटीसँग भने।
विकास कोषका सूचना अधिकृत हरी राईले बौद्धधर्ममा पवित्र स्थानमा कपाल तथा बंगारा गाडिएमा बुद्धत्व प्राँप्त गर्छन् भन्ने मान्यताका आधारमा गाडिएको हुनसक्ने बताए।
अधिकृत भट्टराईले लुम्बिनी विकास कोषमा हुने राजनीतिक नियुक्तीका कारण कोष असुरक्षित र लथालिङ्ग भएको आरोपसमेत लगाए। मायाँदेवी मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ तर त्यसको सदुपयोग नहुँदा त्यो प्रभावविहीन भएको छ।
मायादेवी मन्दिर परिसरमा कुनै पनि उत्खनन् वा निर्माण गर्नुपरेमा युनेस्को र लुम्बिनी विकास कोषसँग अनुमति लिनुपर्ने हुन्छ। तर, आधा मिटर गोलाई २० ईन्च गहिराई खाडल खनेर मानव अस्तु गाड्ने कार्य कोषका कर्मचारीकै आर्थिक चलखेलमा भएको हुनसक्ने एक कर्मचारीले बताए।
लुम्बिनी बिकास कोषका वनस्पती अधिकृत सब्बिर मोहम्मद खानको डिजाईन र गार्ड कमाण्डर धन्नाराम श्रेष्ठ, दंगा नियन्त्रण गणका प्रहरी नायब निरीक्षक चन्दा थापा र प्रहरी सहायक निरीक्षक जीवा कुँवरको मिलोमतोमा उक्त कार्य भएको उनले दाबी गरे।