नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई सिन्धुली मकवानपुर तथा सिन्धुली सर्लाही सीमाबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता कपिल वाइवा नाम गरेका शेरबहादुर वाइवालाई हरिहरपुरगढी र मकवानपुरको सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।
अन्य दुई कार्यकर्तालाई भने सिन्धुली र सर्लाहीको सीमाबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको र अनुसन्धानपछि मात्र उनीहरू दोषी या निर्दोष हुन् पछि भन्न सकिने प्रहरी उपरीक्षक केसीले बताए।
यही २० चैतमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ भलखडामा कालिका कन्ट्रक्सनको अस्थायी क्याम्पमा विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका सवारी साधनमाथि आगजनी र बम विस्फोट गराएका थिए। सोही घटनालाई लिएर अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको र अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले यही १६ चैतमा मरिण गाउँपालिका–७ महेस्वतामा रहेको एनसेलको टावरमा क्षति पुर्याएका थिए। उक्त घटनाबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस