त्रिवि कानून संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ।
डीन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागू गरेपछि त्यसविरुद्ध अनेरास्ववियुले तालाबन्दी गरेका कारण भर्ना प्रक्रिया रोकिएको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिए।
‘यतिबेला भर्ना प्रक्रिया सकिएर पढाइ सञ्चालन गर्ने समय हो’, उनले भने,‘तर डीन कार्यालयमा तालाबन्दी भएका कारण सबै रोकिएको छ।’
डीन कार्यालयले ल क्याम्पसमा स्नातक तहको प्रथम वर्षका लागि पाँच सय जनाको दरबन्दी निर्धारण गरेपछि अनेरास्ववियु क्याम्पस कमिटीले ताला लगाएको हो। यसअघि चार हजार २३८ विद्यार्थी भएकामा यस पटकदेखि डीन कार्यालयले क्याम्पसको क्षमता हेरेर पाँच सयको दरबन्दी निर्धारण गरेको छ।
डीन कार्यालयले नयाँ विद्यार्थी भर्नाका लागि दरबन्दी निर्धारण गरेर प्रवेश परीक्षा लिन गत फागुन १४ गते सूचना जारी गरेसँगै ताला लगाइएको हो। ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजासमेत प्रकाशन हुन पाएको छैन। क्याम्पस प्रमुख पराजुलीले तालाबन्दीका कारण शैक्षिकसत्र नै खल्बलिने बताए। स्नातक प्रथम वर्षको चैतदेखि नै पढाइ सञ्चालन गर्ने क्याम्पसको तयारी थियो।
डीन कार्यालयले त्रिविका पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ। न्यौपानेले ताला खोल्ने विषयमा दुई पटक छलफल भए पनि निष्कर्षमा नपुगिएको बताए। अनेरास्ववियु क्याम्पस कमिटी सदस्य हरिप्रसाद पंगेनीले तोकिएको दरबन्दी अपुग भएकाले तालाबन्दी गरिएको बताए। पछिल्लो समय कानून पढ्ने विद्यार्थीको संख्यमा वृद्धि भइरहेको छ।रासस