सरकारले अमेरिकाको मेट्रो पोलिटन म्यूजियममा रहेको २ वटा पुरातात्त्विक महत्त्वको मूर्ति फिर्ता ल्याएको छ।
नेपालबाट ८८ वर्षअघि हराएको बुद्धको मूर्ति र ९५ वर्षअघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो। मेट्रो पोलिटन म्यूजियमले आफूहरूको दाबीपछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।विभागले मूर्ति फिर्ताका लागि म्यूजियमसँग दाबीसहितको पत्र पठाएको थियो। मूर्ति फिर्ता लिन अमेरिकास्थित महावाणिज्य दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
अमेरिकास्थित महावाणिज्य दूत मधु मरासिनीले मेट्रो पोलिटन म्यूजियमले मूर्ति फिर्ता सहज ढंगले गरिदिएको बताए।
बुधबार पुरातत्त्व विभागको कार्यालयमा बुझाइएको दुवै मूर्ति ११ औं, १२ औं शताब्दीतिर निर्माण भएका हुन्। बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो। विभागमा महानिर्देशक दाहालले मूर्ति फिर्ता गरिदिएकोमा अमेरिकास्थित मेट्रो पोलिटन म्यूजियमलाई धन्यवाद व्यक्त गरे।
उनले नेपालबाट हराएको मूर्ति फिर्ता गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। नेपालबाट धेरै प्राचीन कलाका मूर्तिहरू चोरी भएका छन्। ती सबै मूर्तिहरू फिर्ता लिन आवश्यक कदम चाल्ने विभागको योजना छ।
पुरातत्त्व विभागले नेपालस्थित कूटनीतिक नियोगको सहयोगमा नेपालबाट हराएको मूर्तिहरूको खोजी गर्ने कार्ययोजना पनि तय गरिसकेको छ।
https://www.youtube.com/watch?v=oqtVHA8T_x4&feature=youtu.be