‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है।’
यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो। आशिषको मनमा अनेक सपना थिए। बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने। उनकी छोरी १८ वर्षीया अस्मिता भन्दै थिइन्, ‘बाबा म कक्षा ११ गाउँमा सकिएपछि काठमाडौं गएर पढ्छु है।’ शेरबहादुरले पनि छोरीको कुरामा सहमति जनाएका थिए।
यही फागुन १४ गते रातको १० बजेसम्म उनले परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका थिए। सुतेको एक घण्टापछि अर्थात राती १२:३० बजे मलेसियाबाट शेरबहादुरको नम्बरबाट फोन आयो, फोन आएपछि किन गरेको होला?, भर्खरै त फोन गरेको, किन फेरि गरेका होलान्? भनेर झस्किएँ। शेरबहादुरले पहिले त्यसरी फोन नगर्ने गरेको उनकी श्रीमती गोपी खड्काले बताइन्।
फोन शेरबहादुरको नभएर उनको साथीको आएको रहेछ। उनको साथीले अचानक भने, ‘शेरबहादुरलाई अचानक गाह्रो भएर यहीँकै अस्पतालमा लगेका छौँ।’ त्यति भनिसकेपछि चिन्ता नलिनु भन्दै उताबाट फोन काटियो। उक्त फोनपछि परिवारका सबै सदस्य आत्तिए। उनका साथीले चिन्ता नलिनु भनेपछि सबै सुते।
२ बजेदेखि फेरि फोनको घण्टी बजिरहेको रहेछ। दुई/तीन पटक फोन आइसकेपछि मात्र छोरी अस्मिताले फोन उठाइन्। फोन उठाउने बित्तिकै उताबाट आवाज आयो, ‘तपाईंको बुबा यो संसारमा रहनुभएन।’ त्यसपछि परिवारमा रुवाबासी सुरू भयो। गाउँले पनि परिवारलाई सान्त्वना दिन आइपुगे।
शेरबहादुर विसं २०७१ असारमा मलेसियामा वैदेशिक रोजगारीको लागि गएका थिए। फर्निचरको काम गर्न भनेर गएका उनी त्यहाँ गएर पनि त्यही काम नै गर्न थालेका थिए। तर, केही महिनामा तलब बढाइदिने भने पनि उही तलबमा तीन वर्षसम्म काम गरिरहे।
परिवारको ऋण तिर्न नसकेपछि उनले पुनः एकवर्ष थप गरी काम गर्ने निधो बनाएका थिए। ०७४ असारमा नै म्याद सकिए पनि ०७५ असारसम्मका लागि समय थप गरी कामलाई निरन्तरता दिएका थिए। तर, उनको अचानक मृत्युपछि चारजना छोराछोरीलाई पढाउने र ऋण तिर्ने जिम्मेवारी उनकी श्रीमती गोपीको काँधमा आइपरेको छ।
बीमालगायत क्षतिपूर्ति पाउन गोपी भाइ बलबहादुर केसीको साथ काठमाडौं आइपुगिन्। तर, काठमाडौं आएपछि उनले थाहा पाइन् कि उनले ती सबै रकम नपाउने रहिछन्। तर म्यानपावरबाट भने उनले एक लाख ३० हजार क्षतिपूर्तिबापतको रकम पाइन्। उनी भन्छिन्, ‘श्रीमान् विदेश जाँदाको ऋण अझै तिर्न बाँकी छ, छोराछोरीलाई पनि कसरी पढाउनु ?’
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलगायत बीमा कम्पनी सबैतिर उनका भाइ र उनी भौतारिँदा पनि कतैबाट क्षतिपूर्ति नपाउने बताएकाले आफू निराश भएर फर्किएको उनी बताउँछिन्। उनका कान्छा छोरा अहिले सात वर्षका भए, त्यस्तै माइला छोरा १२, जेठो १६ र छोरी १८ वर्षकी भइन्। छोराछोरीलाई अब आफूले पढाउन सक्ने अवस्था नरहेको र सरकारले पढाइदिन्छ भन्ने सुनेर काठमाडौंसम्म धाएको उनले बताइन्।
मलेसिया लगायत बाह्य देशमा एक वर्ष समय थप गरेर बस्न पाउने भए पनि नेपालमा भने ६ महिनासम्म मात्र मान्यता दिने गरेको छ। ‘नेपालमा यसरी म्याद नाघिसकेपछि पनि विदेशमा बस्नेको संख्या धेरै भएको र म्याद नाघेपछि मृत्यु हुनेको संख्या धेरै भएपछि नै तिनीहरूलाई क्षतिपूर्ति दिने क्षमता सरकारमा नभएपछि ऐनमा परिवर्तन गरेका हौँ।’
नेपाल पर्यटन प्रवर्द्धन बोर्डका प्रमुख रघुराज काफ्लेले भने – ‘२०७४ साउन १६ गतेबाट म्याद सकिएपछि मृत्यु हुने र दुर्घटनामा पर्नेलाई क्षतिपूर्ति बापतको रकम नदिने निर्णय सरकारले गरेको छ।
यो वर्षभित्र म्याद भएकाको हकमा र यही वर्ष अनुमति लिएकाको हकमा स्वतः एक वर्ष थप हुने उनले जानकारी दिए।रासस