तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ सुकौरा र दंगिशरण गाउँपालिका वडा नम्बर ४ सुकदेवा, बैवाङ जोड्न पातुखोला पुल निर्माणमा प्रयोग भएका चोरीका सामग्री बरामद गरेपछि प्रहरीले फिर्ता गरेको छ।
पुल निर्माण कम्पनीलाई प्रहरीले बरामद गरेको झन्डै ४ ट्रयाक्टर पुल निर्माणको सामग्री प्रदान गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। पुल निर्माणको जिम्मा पाएको कम्पनी हिम सगरमाथा निर्माण सेवाले निर्माण कार्य प्रभावित भएको हुँदा फेला परेका सामग्री प्रदान गर्न आग्रह गरेबमोजिम प्रहरीले फेला पारेका सामग्री फिर्ता गरिएको सापकोटाले बताए। एक ट्रयाक्टर जति फेला परेको निर्माण सामग्री भने प्रहरीले यसअघि नै फिर्ता गरिसकेको थियो।
आफ्नो चोरी भएको सामग्री यथाशक्य चाँडो प्रकृया मिलाएर प्रदान गरेमा काममा सहजता हुने व्यहोरासहितको निवदेन निर्माण कम्पनीले प्रहरीमा दिएपछि सोही आधारमा प्रहरीले बरामद गरेको सामग्री प्रदान गरेको बताएको छ।
दंगिशरण गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी बनेका ५० वर्षीय ठाकुर चौधरीले पातुखोलामा निर्माणाधीन पुलको निर्माण सामग्री चोरेको पुष्टि भएपछि उनी हाल फरार छन्।
ठाकुर चौधरी नेकपा माओवादी केन्द्रको तर्फबाट गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा दंगिशरण गाउँपालिका वडा नम्बर ४ बैवाङबाट वडा अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए। त्यस्तै, उनीसँगै सोही वडा बस्ने सुकदेवा निवासी ४५ वर्षीय सम्शेर चौधरीले पनि पुलको निर्माण सामग्री चोरेको प्रहरीले जनाएको छ।
चौधरीद्वयको घरबाट पुल निर्माणका सामग्री बरामद भएपछि दुबै जना फरार रहँदै आएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख एवं प्रहरी नायव निरीक्षक बसन्त वलीले जानकारी दिए।
पुल निर्माणको जिम्मा लिएको हिम सगरमाथा निर्माण सेवाले पुल निर्माणको सामग्री चोरी भएको निवेदन दिएपछि खोजी गर्दा चौधरीद्वयको घरबाट झन्डै ५ ट्रयाक्टर जति छड, पाइप लगाएतका निर्माण सामग्री फेला परेको प्रहरीले जानकारी दिएको छ। चौधरीद्वयको घरमा जमिनमुनि गाडेको तथा लुकाइ राखेको अवस्थामा प्रहरीले ती निर्माण सामग्री बरामद गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार दुई वर्ष अगाडि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिंचाई मन्त्री दीपक गिरीले उक्त पुलको शिलान्यास गरेका थिए। त्यतिबेला देखि नै उनीहरूले मौका छोपेर पुल निर्माणका सामग्री रातिमा चोरी गर्न थालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। चौधरीद्वयको घरमा बरामद निर्माण सामग्री झन्डै ३० लाख मूल्य बराबरको रहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, फरार भनिएका माओवादी नेता लगायत चौधरीद्वयलाई पक्राउ नगर्ने प्रहरीलाई दबाव आएको एकजना प्रहरी अधिकारीले बताएका छन्।
‘हामीलाई नेताहरूको फोन आउने गरेको छ, पक्राउ नगर्नु भन्ने छ, तर हामीले फेला पारे पक्राउ गरेरै छोड्ने छौं,’ एकजना प्रहरी अधिकारीले भने।
प्रहरीले त्यही भएर जिल्लामै लुकिछिपी बस्दै आएका फरार भनिएका चौधरीद्वयलाई पक्राउ नगरेको आरोप लाग्न थालेको छ। प्रहरीले फरार भनिएका चौधरीद्वयलाई मुद्दा चलाएर कारवाही गर्न आनाकानी गर्दै आएको आरोप लाग्न थालेको छ।