पोखरा–बाग्लुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालदेखि विस्थापित बाग्लुङ नगरपालिका १ खनियाँघाटका माझी परिवारले अझै घर पाउन सकेका छैनन्।
निर्वाचनको बेला धेरै नेताले माझी समुदायलाई आफ्नै घर उपलब्ध गराउने आश्वासन बाँडे। विस्थापित १४ माझी परिवारलाई पुनर्स्थापना गर्ने कार्यले भने अझै पनि पूर्णता पाउन सकेन।
२८ वर्ष अघि विस्थापित भएको अल्पसंख्य माझी समुदायलाई नयाँ वर्ष र दशैंमा घर उपलब्ध गराउने भन्दै आश्वासन बाँड्न थालिएको १० वर्षभन्दा बढी भैसकेको छ। पटक—पटकको आश्वासनबाट माझी परिवारहरू वाक्क बनिसकेका छन्। गतवर्ष घर निर्माणका लागि ठेक्का सम्झौता भएपछि माझीहरू घर पाउनेमा ढुक्क थिए।
अघिल्लो वर्षको माघमा एक वर्षभित्र माझी समुदायलाई घर उपलब्ध गराउने गरी ठेकेदार कम्पनी र बाग्लुङ नगरपालिकाबीच लिखित सम्झौता भएको थियो। सम्झौता हुने बेला दशैंमै घर उपलब्ध गराउने वचन पनि दिइयो। केही प्राविधिक कमजोरीका कारण दशैंमा घर निर्माण पुरा नहुने भन्दै भाका नयाँ वर्षसम्म सर्यो। तर, अहिले नयाँ वर्षमा पनि माझी समुदायले घर नपाउने अवस्था देखिएको छ।
घर निर्माणका काम सुरू भएपछि खुशी देखिएका माझीहरू त्यसमा भएको ढिलासुस्तीका कारण अहिले फेरि निराश देखिएका छन्। विस्थापित माझी परिवार दुई दशकभन्दा अघिदेखि बाग्लुङको बाँगेचौरमा रहेको सामुदायिक वन र कालिगण्डकी किनारको मालढुंगा आसपासमा कष्टकर जीवन बिताउँदै आएका छन्।
धेरै पटक पुर्नस्थापनाको आशा देखाए पनि समयमा काम नगर्दा माझी समुदाय नै निराश भएको स्थानीय देउकली माझीले बताइन्।
‘निर्माण कार्य अघि बढेपछि धेरै आशावादी थियौं, माझीले भनिन्, ‘ठेकेदारको लापरवाहीका कारण गुणस्तरहीन सामान प्रयोग भएका छन्। पछिल्लो समय निर्माण कार्यमा धेरै लाहपरवाही देखिएको छ।’
बस्ती निर्माणको सम्झौता अवधि गत मंसिर २६ गते सकिएपछि अहिले ६ महिना म्याद थप गरिएको छ। निर्माणाधिन माझी बस्तीमा अझै घरका साथै विद्युत, पानी लगायतका पूर्वाधार निर्माण गर्न बाँकी रहेको छ। न्यूनतम खर्चको घर निर्माण योजनामा बिजुली, पानी लगायतको व्यवस्थापन समावेश गरिएको थिएन। यसलाई जिल्लाका विषयगत कार्यालयसँग समन्वय गरेर व्यवस्थित गरिने बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए। विस्थापित माझी परिवारको घर निर्माणका लागि बाग्लुङ नगरपालिका, निर्माण कम्पनी मृुक्तिनाथ/बिएन/त्रिशक्ति जेभि निर्माण सेवा र माझी बस्ती व्यवस्थापन समितिबीच गत वर्षको मंसिरमा सम्झौता भएर काम अघि बढाइएको थियो।
निर्माण जिम्मा लिएको मुक्तिनाथ जेभि कम्पनीका नारायण जिसीले डिजाइनमै केही समस्या भएको र बजेट निकासामा समस्या भएका कारण निर्माण ढिलाइ भएको बताए। जिसीले आगामी जेठ मसान्तभित्र सबैघर निर्माणको काम सकिने र माझीहरूलाई हस्तान्तरण गर्ने बताए। उनले भने, ‘पहिले डिजाइन गर्दा अधुरो गरिएको रहेछ, हामीलाई बीचमा थप काम गर्नुपर्ने भनियो, निकासा पनि समयमा नहुँदा कामदारलाई काम गराउन गाह्रो भएको छ।’
सोमबार माझी बस्ती व्यवस्थापन समन्वय समिति बागलुङ नगरपालिका–१ रामरेखाले अहिले निर्माण कार्यमा भएको ढिलासुस्ती, लापरवाही, समितिसँगको समन्वयमा बेवास्ता लगायतका कारण देखाउँदै समितिमा आबद्ध सबैले सामूहिक राजीनामा दिएका थिए। नगरपालिकाको निर्माणमा ढिलाइ, फितलो अनुगमन, ठेकेदार कम्पनीको चरम लापरवाही हुँदा पनि कार्यालय र जनप्रतिनिधिको बेवास्ता, गुणस्तरहीन सामग्रीको प्रयोग लगायतका कारण सामूहिक राजीनामा दिने निर्णयमा पुगेको समन्वय समितका अध्यक्ष केवी राना मगरले बताए।
बस्ती व्यवस्थापन समन्वय समितिले राजीनामा गरेको थाहा भएपछि मंगलबार निर्माण कम्पनीका ठेकेदार, समन्वय समितिका पदाधिकारी, माझी बस्तीका प्रतिनिधि र बाग्लुङ नगरपालिकाबीच छलफल भएको छ। छलफल पश्चात माझी बस्ती निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, नगरपालिकाले समन्वय समितिलाई पनि अनुगमन गरी कामलाई तीव्रता पार्नका लागि सामूहिक राजीनामा फिर्ता लिन आग्रह गरेको नगर प्रमुख पौडेलले बताए।
उनले भने, ‘ठेकेदार कम्पनीले विभिन्न कारण देखाएर म्याद थपको लागि अनुरोध गरेकाले तोकिएको अवधिमा पनि काम नगरे कारवाही गरिने छ। पौडेलले विगतमा भएको केही प्राविधिक समस्याका कारण म्याद थपिएको र आगामी जेठ महिनाभित्र माझी परिवारलाई नयाँ घर उपहारको रूपमा हस्तान्तरण गर्ने बताए।
उनले भने, ‘घाम पानी सहेका माझी परिवारको पीडाको गहिरो अनुभूति हामीसँग छ, नगरपालिकाले यसलाई चासोको रूपमा हेरेको छ। समय समयमा हामी गुणस्तरको पनि अनुगमन गर्नेछौं।’
कूल १ करोड २२ लाख ९० हजार रुपैयाँ लागतमा ९८ लाख ३२ हजार (८० प्रतिशत) नगर विकास कोषको अनुदान, १२ लाख २९ हजार (१० प्रतिशत) नगर विकास कोषको ऋण र १२ लाख २९ हजार (१० प्रतिशत) बाग्लुङ नगरपालिकाको स्थानीय सहभागितामा न्यूनतम खर्चको घर निर्माण योजना अन्तरगत १४ वटा घर निर्माण गर्ने लागत स्टीमेट तयार गरिए पनि ठेकेदार कम्पनीले टेन्डर मार्फत ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको हो।
माझी बस्तीका लागि नगरपालिकाले करिब १ रोपनी जग्गा खरिद गरेको थियो भने स्थानीय कर्णबहादुर बोहरा, दिव्यधर आचार्य, कृष्णबहादुर केसी, शम्भु आचार्य र कौशिला आचार्यले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए।