गएको साउनयता काठमाडौंमा मात्र ८९ वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याक अनुसार गएको साउनयता काठमाडौंमा मात्र ८९ ओटा जबरजस्ती करणीका मुद्दा दायर भएका छन्।
त्यसैगरी गएको वर्षमा पनि ११२ ओटा जबरजस्ती करणीका मुद्दा दायर भएको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष ०७१, ०७२ मा ९२, ०७२,०७३ मा ९९ ओटा, ०७३,०७४ मा ११२ र चालू आर्थिक वर्षमा ८९ जना गरी गएको ४ वर्षमा ३ सय ९२ जना महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको काठमाडौं प्रहरीको तथ्यांकले जनाएको छ।
गएको आर्थिक वर्ष ०७३,०७४ को तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा बढी जबरजस्ती करणीका घटना साउन महिनामा भएका छन्।
काठमाडौं प्रहरीको तथ्याक अनुसार असार महिनामा मात्र १५ ओटा घटना भएका छन् भने, साउनमा १४ र जेठमा १३ ओटा जबरजस्ती करणीका घटना भएको प्रहरी तथ्यांक छ।
काठमाडौं प्रहरीका अनुसार सबैभन्दा आइतबार बढी उजुरी आउने गरेका छन्। प्रहरी तथ्यांक अनुसार आइतबार २१ ओटा घटना आएको देखिन्छ भने शनिबार १९ र मंगलबार १७ ओटा उजुरी पर्ने परेको प्रहरी तथ्यांकमा छ।
प्रहरीका अनुसार २६ वर्षदेखि ३५ वर्षका पुरुषहरूले सबैभन्दा बढी जबरजस्ती करणीका घटना घटाउने गरेको प्रहरी तथ्यांकले देखाएको छ। सो उमेरका व्यक्तिले ४७ ओटा घटना गराएको र ११ वर्षदेखि १६ वर्षका बालकले पनि ७ ओटा घटना गराएको काठमाडौं प्रहरीको तथ्यांक छ।
यसैबीच, काठमाडौंमा बलात्कारका घट्ना बढ्दै गएपछि प्रहरीले घटना न्यूनीकरणको लागि सरोकारवाल निकायहरूसँग छलफल गर्ने सुरू गरेको छ।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको पहलमा एक अन्तर्किया सम्पन्न भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेल पीडितले आर्थिक प्रलोभन, सामाजिक डरत्रासबाट बञ्चित भएर उजुरी दिने गरे अपराधीहरू निरत्साहित हुने बताउँछन्। पीडितले न्याय पाउने गरी सबै निकायहरू पीडित मैत्रीपूर्ण हुन पनि जरुरी रहेको न्यायाधीश पोखरेलले बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा वर्षेनी बलत्कारका घटना बढ्नु देशकै लागि लज्जाबोध भएको बताउँछन्। छिटोभन्दा छिटो अपराधीले सजाय पाउने र पीडितले न्याय मिल्ने गरी प्रहरी अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
१० वर्ष मुनिदेखि ५० वर्षमाथि उमेरका समेत पीडित रहेका छन्। सबैभन्दा बढी पीडितको उमेर १७ वर्षदेखि ३५ वर्षसम्म रहेको छ। सरकारी वकिलको कार्यालयदेखि प्रहरी प्रशासन समेत पीडित मैत्रीपूर्ण भएकाले निर्धक्क भएर उजुरी दिन सरकारी वकिल कार्यालयका प्रमुख सूर्यराज दाहाल बताउँछन्। राजधानीमा हुने अधिकांश बलत्कारका घटना दिउँसो समयमा हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।