ईलाका वन कार्यालय सतबरियाले सरकारी वन अतिक्रमण गरी व्यक्तिगत लाभमा उपभोग गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।
ईलाका वन कार्यालय सतबरियाका सहायक वन अधिकृत धर्मदेव ठाकुरले सरकारी वनको जग्गामा मेसिन लगाएर वन जंगल नष्ट गरी ईट्टा निर्माण गर्न प्रयोग गर्दै आएको पाइएपछि पक्राउ गर्नु परेको बताए।
लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी २५ वर्षीय राजेशकुमार चौधरी, सोही ठाउँ निवासी ४२ वर्षीय राजुबहादुर चौधरी लगायत चार जनालाई सरकारी वन अतिक्रमण गरी व्यक्तिगत लाभमा प्रयोग गर्दै आएको तथ्य अनुगमनका क्रममा फेला परेपछि पक्राउ गरी अनुसन्धान थालिएको ठाकुरले जानकारी दिए।
लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँस्थित करिब दुई बिगाहा सरकारी जमिनमा जे सिभी(मेसिन) लगाएर जमिन सम्याउने, ईट्टा निर्माण गर्ने गतिविधि हुँदै आएको पाइएको हुँदा उनीहरूलाई नियन्त्रणमा लिनु परेको वन अधिकृत ठाकुरले बताए।
ईलाका वन कार्यालय सतबरियाको सेवा क्षेत्र भित्र सरकारी तथा सामुदायिक वनमा अतिक्रमण हुन नपावस भनेर आफूहरू नियमित अनुगमन गर्दै आएको र त्यही क्रममा सोमबार बिहान ११ बजेतिर सरकारी जग्गा अतिक्रमण गरेर निजी प्रयोजनमा लगाउने चारजनालाई पक्राउ गर्नु परेको ठाकुरले जानकारी दिए ।
यसैबीच, ठाकुरले वनपैदावार चोरीपैठारी निकासी,वन्यजन्तु सिकार लगायतका अवैध गतिविधि न्यूनीकरण गर्न स्थानीयको सूचना र सहयोग अति आवश्यक हुने भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको बताए।