सशस्त्र युद्धताका गोलीको छर्रा शरीरमा लिएर कष्टपूर्ण जीवन बिताइरहेकी पूर्वमाओवादी लडाकु अनुपा राईको नि:शुल्क उपचार बिर्तामोडको बिएण्डसी अस्पतालले गरिदिने भएको छ।
आर्थिक अभावमा उपचारका लागि १५ वर्षदेखि भौताइरहेकी पाँचथर हिलिहाङ गाउँपालिका–७ निवासी अनुपालाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले निःशुल्क उपचार गर्न लागेको अस्पातालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए।
‘१५ वर्षको लामो अवधिमा न त पार्टीले पहल गरिदियो, न त राज्यले कुनै सहयोग उपलब्ध गरायो, अनुपाले सेतोपाटीसँग खुसी हुँदै भनिन्, ‘बल्ल बीएण्डसीले मेरो उपचार निःशुल्क गरिदिने भयो।’
उनको उपचारमा पंकज राज नेपालको नेतृत्वमा रहेको चिकित्सकहरूको टोलीले शल्यक्रिया तथा उपचार गर्ने विएण्डसी अस्पतालका सूचना अधिकृत प्रमिस गिरीले बताए।
१५ वर्षको उमेरमा २०५७ सालमा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षामा पढ्दा पढ्दै अनुपा तत्कालीन माओवादीको पक्षमा युद्धमा होमिएको थिइन्। २०५९ वैशाख २४ गते संखुवासभाको चैनपुर प्रहरी कार्यालय आक्रमणका बेला उनलाई तत्कालीन शाही नेपाली सेनाले प्रहार गरेको गोली लागेको थियो। शरीरका विभिन्न ठाँउमा गोलीको छर्रा लागेर पनि अनुपाले पाँचवटा युद्ध लडेको बताइन्।
उनले भनिन्, ‘२०५८ मंसिर १० गते सोलुखुम्बु, २०५८ साल माघ २२ गते काभ्रेको भकुण्डेबेँसीमा, २०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते भएँ।’
२०५९ साल भदौ २२ गते सिन्धुलीको भिमान र २०५९ साल कात्तिक १० गते ओखलढुंगाको रुम्जाटारमा युद्ध भएको थियो। युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मनकुमार राईसँग पार्टीभित्रै विवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्छिन् भने उनका श्रीमान् चार वर्षदेखि मलेसियामा वेल्डिङको काम गर्छन्।
चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भनिन्– ‘साथीहरूले म मरेको रिपोर्ट कमान्डर कहाँ पुर्याएछन्। त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ।’
आफू शहीद भएको खबर घरसम्म पुगे पनि काजकिरिया चाहिँ नगरिएको उनले बताइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि उपचारका लागि काठमाडौंको लाइफ केयर अस्पतालसम्म पुगे पनि शरीरमा रहेको छर्रा निकाल्न नसकिएको उनले बताइन्।
द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम समेत उनले भरेकी थिइन् तर अहिलेसम्म कहीँ कतैबाट क्षतिपूर्ति नपाएको उनले गुनासो गरिन्। अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै आफूलाई गाह्रो हुँदै गएको अनुपाले बताइन्।
पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उनी अझै आशावादी छिन्।
उनले भनिन्, ‘हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र मजस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ।’
नेकपा (माओवादी केन्द्र)का हिलिहाङ गाउँपालिका ईर्ञ्चाज रवि तिम्सिनाले भने सुरूमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको बताए।