सुर्खेतस्थित सुर्खेत क्याम्पस (शिक्षा) मा अनिश्चितकालीन तालाबन्दी भएको छ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन, क्याम्पस एकाई समिति सुर्खेतले ११ बुँदे मागसहित सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो।
सोमबार समितिले एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा व्यापक अनियमितता हुने गरेको र त्यसलाई रोक्नुपर्ने लगायतका मागहरू राखेको छ। आफूहरूका माग पुरा नभएसम्म क्याम्पसमा लगाइएको ताला नखोल्ने समितिका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले बताए।
यस्तै, क्याम्पसको हाताभित्र रहेको जग्गा अनधिकृत रूपमा लामो समयका लागि लिजमा दिन तत्काल रोक्नुपर्ने, सेमेस्टार प्रणाली लागू भइसकेको अवस्थामा आवश्यक पाठ्यक्रम, सामग्रीहरू तत्काल उपलब्ध गराइनुपर्ने, क्याम्पसको गाडीको दुरुपयोग रोक्नुपर्ने र अन्य आर्थिक कार्यलाई मितव्ययी बनाइनुपर्ने, क्याम्पसलाई बहुमुखी संकायमा लैजान गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने, अभ्यास शिक्षण बापतको प्रतिविद्यार्थी प्राप्त हुनुपर्ने पारिश्रमिक तत्काल वितरण गर्नुपर्ने, क्याम्पसमा रहेका सबै शाखाहरू सक्रिय बनाइनुपर्ने, आंशिक प्राध्यापकलाई न्यायोचित र सम्मानजनक कक्षा वितरण र समयमै पारिश्रमिक उपलब्ध गराइनुपर्ने लगायतका मागहरू पनि समितिले अघि सारेको छ।