रुपन्देहीको कञ्चन गाउँपालिका स्थायी घर भएका दुई जना शारिरीक रूपमा अपांगता भएका व्याक्तिहरू साइकलको माध्यमबाट मेची महाकाली यात्रामा निस्किएका छन्।
कञ्चन गाउँपालिका १ बेलभरिया गजेडी स्थायी घर भएका टोपलाल भट्टराई र सोही गाउँका अर्का देव बहादुर परियारले अपांगमैत्री भौतिक संरचना निर्माणको साथै ‘एक कार्यालय, एक अपांगता व्यक्ति’ रोजगारको नारा लिएर मेची महाकाली साइकल यात्रामा निस्किएका हुन्।
यही चैत १३ गते दिउँसो १२ बजे पूर्वको इलाम जिल्लाको मेची पुलबाट यात्रा सुरू गरेका भट्टराई र परियार सोमबार बुटवल आइपुगेका छन्।
बुटवल आएका उनीहरूलाई बुटवल उपमहानरपालिका र परियार सेवा समाज, राष्ट्रिय अपांग महासंघ पश्चिमाञ्चल समिति तथा अन्य संघसंस्थाले स्वागत गर्दै हौसला प्रदान गरेका थिए।
बुटवल उपमहानरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य, सामाजिक शाखा प्रमुख वरिष्ठ अधिकृत दामोदर ज्ञवाली लगायतले खादा फूलमालासहित सम्मान गर्दै अपांगमैत्री भौतिक संरचना निर्माणमा आफूहरूको ध्यान गएको बताए।
कञ्चन गाउँपालिका १ वडा कार्यालयको ५० हजार रुपैयाँ र अपांग पुनर्स्थापना तथा सामुदायिक विकास केन्द्रको १५ हजार रुपैयाँ आर्थिक सहयोगले उनीहरूले मेची महाकाली यात्रामा निस्केका हुन्।
आगोले पोलेको कारण एउटा खुट्टा गुमाएका भट्टराईले कृत्रिम खुट्टा प्रत्यारोपण गरेका छन् भने परियारको पोलियोका कारण एउटा खुट्टा कमजोर रहेको छ। यही चैत ३० गते १७ दिनमा मेची महाकाली यात्रा पुरा गर्ने योजना रहेको उनीहरूले बताए।
यात्राको क्रममा धेरै व्यक्तिहरूबाट सहयोग प्राप्त भए पनि संरचना अपांगमैत्री नहुँदा कहिलेकाहीँ हतोत्साहित हुनु परेको उनीहरूले बताए।